पोषणको अवस्था सुधार ल्याउन पोषण विज्ञान अध्ययन हुने

१५ आश्विन २०७६, बुधबार ०९:०१ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं– मुख्यतः कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार (क्लिनिकल न्युट्रिसन डाइटेटिक्स) कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका केही क्याम्पसमा मात्र सो तहमा अध्ययन अध्यापन हुने गर्दछ । आठ सेमेष्टर सो तहको पठनपाठन हुनेछ । सो कार्यक्रमका साथमा प्रतिष्ठानले आगामी वर्षदेखि नै दुईवर्षे स्नाकोत्तर तहमा इपिमिडियोलोजी विषयको शैक्षिक कार्यक्रम चार सेमेष्टरमा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिष्ठानद्वारा ती दुई अलगअलग विषयको अन्तिम पाठ्यक्रम निर्माणसम्बन्धी आज यहाँ आयोजित कार्यशालामा ती विषयको अध्ययन अध्यापनले समग्र कर्णालीको स्वास्थ्य स्थितिलाई माथि उकास्ने विश्वास गरिएको छ । कति सिटमा पठनपाठन हुने पछि तय हुने जनाइएको छ । हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराइरहेको छ । नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय १०० जनशक्ति उत्पादन भइसकेको छ । शैक्षिकसत्र विसं २०७५/०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत भएको छ ।

चिकित्सा विज्ञानअन्तर्गतको एमडिजिपी तथा एमबीबीएस तहका पठनपाठन शुरुआतको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ । विशेषज्ञ उत्पादन गर्ने एमडिजिपी तहको पठनपाठनको सबै तयारी पूरा गरेर पनि राष्ट्रिय चिकित्सा आयोगले यस वर्ष अनुमति/स्वीकृति रोकिदिएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राध्यापक चिकित्सक राजेन्द्र वाग्लेले प्रतिष्ठानले शैक्षिक कार्यक्रम, स्वास्थ्य सेवा र अनुसन्धान तीनै विधामा समानरुपमा काम गरेको जानकारी दिँदै चिकित्सा विज्ञानका नयाँनयाँ विषयको पठनपाठनले कर्णाली प्रदेश तथा समग्र देशका लागि आवश्यक जनशक्ति उत्पादन हुने जानकारी दिए ।

रजिष्ट्रार विश्वराज काफ्लेले कर्णाली प्रदेशको समग्र पोषणको स्थितिलाई सुधार गर्न तथा पब्लिक, क्लिनिकल र मेडिकल हेल्थका विधालाई समेट्ने गरी एमएस्सी तहको इपिमिडियोलोजी र क्लिनिकल न्युट्रिसन डाइटेटिक्स नयाँ विषयमा पठनपाठन गर्न लागेको बताए । प्रतिष्ठानका स्त्रीरोग विभागका प्रमुख प्रा डा.किरण रेग्मीले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजिपी तथा एमबीबीएस तहका पठनपाठनको शुरुआत गराउन जनशक्ति, पूर्वाधारका दृष्टिले प्रतिष्ठानसक्षम रहेको जानकारी दिँदै अनुमति/स्वीकृति पत्रको पर्खाइमा रहेको बताए ।

नर्सिङ विभागका प्रमुख सरस्वती गौतमले जनस्वास्थ्यको समस्यालाई सम्बोधन गर्न स्वास्थ्य सेवा, अनुसन्धान र जनशक्ति उत्पादन दुवैमा प्रतिष्ठानले प्राथमिकता दिएको जानकारी दिए । संयुक्त राष्ट्र सङ्घीय बालकोषका पोषण विज्ञ चिकित्सक नवीन पौडेलले पोषणको अवस्थामा सुधार ल्याउन जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी रहेको बतए ।

विशेषतः जुम्ला, हुम्ला, कालीकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थित माथि उकास्न सरकारले ठूलो लगानीका साथ विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा शुरुआत गरेको थियो ।

विसं २०७० मा सो अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो । गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा तथा अक्सिन प्लान्टसमेत सञ्चालनमा ल्याइसकेको छ । दैनिक २०० सम्म अन्तरङ्ग र बहिरङ सेवा लिने सो अस्पतालमा तीन श्यया आइसियु रहेका छन् ।

पछिल्लो समय प्रतिष्ठानमा सेवा लिन आएका बिरामीलाई अन्यत्र रिफर नगर्ने अवस्थामा पुगेका जनाइएको छ । प्रतिष्ठानमा निकट भविष्यमा सिटी स्क्यान उपकरण सेवा तथा नाक, कान र घाँटी विशेषज्ञ सेवा शुरु हुने प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।

विसं २०७४ असोज २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पाँचौँ सिनेट बैठकले प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको थियो । हाल प्रतिष्ठानमा (जुम्ला अस्पताल) प्रायः नेपालबाट नै मेडिकल शिक्षा अध्ययन पूरा गरेका युवा चिकित्सक कार्यरत छन् । ती चिकित्सकले कर्णाली प्रदेशका दुर्गम गाउँमा गई घुम्ती शिविरमार्फत हालसम्म ३० हजारको उपचार गरिसकेका छन् ।

गत वर्ष अस्पतालबाट ३९ हजार ९४२ बिरामीले सेवा लिएका थिए । तीमध्ये चार हजार ३४७ जना आकस्मिक उपचार सेवा, दुई हजार ५९१ जना भर्ना तथा ४६९ जनाको मुख्य (मेजर), ५७२ गभर्वती आमाले बच्चा जन्माएका थिए । तीमध्ये १०२ आमाको मात्र शल्यक्रिया गर्नुपरेको थियो ।


सामाजिक संजालवाट साभार