एउटी ‘खेलाडी’ श्रीमती, जसले श्रीमानको नागरिकतामा ‘ब्वाइफ्रेण्ड’ को फोटो टाँसेर करोडौँ ठगिन्

१४ आश्विन २०७६, मंगलवार १४:२२ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । यहाँस्थित् काठमाडौं टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी मञ्जु रामजालीले आफ्नै श्रीमानको नागरिकता किर्ते गरी करोडौँ रुपियाँ ऋण लिएको पाइएको छ ।

रोजगारीको सिलसिलामा झण्डै तीन दशक विदेशमा बसेका श्रीमान नरसिंह रामजालीको नागरिकता किर्ते गरी श्रीमती मञ्जुले विभिन्न बैँक तथा सहकारीबाट करोडौँ रुपियाँ ऋण लिएको खुलेको हो ।

श्रीमानको नागरिकतामा आफ्नो ‘ब्वाइफ्रेण्ड’ सञ्जय महर्जनको फोटो टाँसेर उनले करोडभन्दा बढी ऋण लिएको खुलासा भएको छ । मञ्जुकी श्रीमान नरसिंहले २० वर्ष भारतीय सेनामा, ३ वर्ष कतारमा र अफगानिस्तामा झण्डै ७ वर्ष काम गरेका छन् । काम गरेर झण्डै उनी २ वर्ष अगाडि नेपाल फर्केका थिए । विदेशमा कमाएको सबै रकम उनले आफ्नो श्रीमतीको नाममा नेपाल पठाउने गरेका थिए ।

नेपाल आएर आफ्नो नामको सम्पति कहाँ–कहाँ छ भनेर खोज्ने क्रममा श्रीमतीले आफूले कमाएको सम्पति परपुरुषको नाममा गरेको खुलासा भएसँगै उनले नागरिकता किर्ते गरेको खुलेको हो । सुर्खेतमा जन्मिएका नरसिंहले आफ्नो नाममा भएको जायजेथा समेत बेचेर सुरुमा काठमाडौं टोखास्थित महादेवटारमा घर किनेका थिए ।

त्यसको केही समयमा उनले चितवनमा १६ कठ्ठा जग्गा किने । उनको त्यो सबै सम्पति श्रीमतीको नाममा थियो । श्रीमती मञ्जुले श्रीमानको नागरिकतामा ब्वाईफ्रेण्डको फोटो टाँसेर चितवन शिवनगरको साढे १६ कट्टा जग्गा धितो राखी एनआइसी एशिया बैँकबाट ८० लाख रुपियाँ ऋण लिएको पाइएको छ । त्यसैगरी काठमाडौंस्थित् टोखा–११ महादेवटार र वनस्थलीका घर धितो राखी सहकारीबाट डेढ करोडभन्दा बढी ऋण लिएको देखिएको छ ।

कसरी सार्वजनिक भयो घट्ना ?

नरसिंहका श्रीमती मञ्जु सरकारी कर्मचारी हुन् । उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सह–लेखापालको रुपमा कार्यरत छिन् । नरसिंहलाई श्रीमतीले जहिल्यै पनि आफ्नो कार्यालय टाढा छ भन्दै ढाट्थे । कहिले मगु त कहिले हुम्ला सरुवा भएको छ भन्दै उनी घरबाट निस्किन्थिन् । पछिल्लो २ वर्षको अवधिमा नरसिंहले आफ्नो श्रीमतीसँग जम्मा ३ दिन मात्र भेट्ने मौका पाए । त्यो पनि दिउँसो ३ घण्टा । काम छ भन्दै श्रीमती जहिल्यै बाहिर बसिरहने भएपछि नरिसंहको मनमा शंका उब्जियो ।

र, एकदिन भेट्ने क्रममा धनगढीमा अफिसको काम छ भन्दै श्रीमती निस्किन् । नरसिंह पनि सँगै निस्के । श्रीमतीलाई नरसिंहले नै टिकट काटिदिए । नरसिंहले श्रीमतीसँगै चितवनसम्म जाने इच्छा राखे तर श्रीमतीले उनलाई नयाँ बसपार्कमै ओर्लन आग्रह गरिन् । र, उनी ओर्ले पनि । नरसिंहले एउटा चलाखी के गरे भने त्यो गाडीको सहचालकको नम्बर लिए, आफ्नो श्रीमती कतिबेला धनगढी पुग्छ भनेर बुझ्नका लागि । झण्डै २ घण्टापछि नरसिंहले गाडीका सहचालकलाई फोन गरे, र सोधे, भाई मेरा श्रीमती त्यही छ ? गाडीका सहचालकले तुरुन्त जवाफ दिए, ‘तपाई आफ्नो श्रीमती भन्नुहुन्छ, त्यो दिदी त मेरो श्रीमान आयो भनेर कलंकीमा ओर्लिनुभयो । त्यो दिदी हो चाहिँ कसको श्रीमती ?’ गाडीका सहचालकले यति भनेपछि आफूलाई छाँगाबाट खसेको अनुभूति भएको बताउँछन् नरसिंह । त्यसपछि उनले श्रीमतीको पिछा गरिन् ।

यही क्रममा उनले सञ्जय महर्जन नाम गरेका व्यक्तिसँग उनले श्रीमतीलाई वनस्थलीको घरमा भेटे । जुन घर पनि नरसिंहले नै विदेशमा पसिना बगाएर बनाएका हुन् । त्यसपछि उनले त्यतिबेलाको फोटो र भिडियो खिचे । पछि श्रीमतीलाई सोधे, ‘त्यो केटा को हो ?’ श्रीमतीले आफ्नो ड्राइभर भएको बताइन् ।

पछि उनले घरमा गएर सबै डकुमेन्ट हेर्दा सञ्जयको सक्कली नागरिकता समेत भेटे । उनीहरु मिलेर गरेका सबै कामहरुको कागज समेत फेला पर्यो । यही क्रममा उनले विभिन्न बैँक र सहकारीबाट ऋण लिएको प्रमण समेत फेला पारेको हो । त्यसपछि उनले वकिलसँग सल्लाह गरेर असोज ८ गते महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा जाहेरी दिए ।

९ असोजमा मञ्जुलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दियो । पक्राउ पुर्जी पाएसँगै २०७६ साल असोज १३ गते साढे १२ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित चक्रपथमा रहेको इन्द्रेणी फुडलेण्डमा मञ्जुलाई फेला परी प्रहरीले पक्राउ गर्न खोज्यो । तर मञ्जुले लगत्तै परिसरका डिएसपी राजेन्द्र धमलालाई फोन गरिन् । त्यसपछि धमलालले मञ्जुलाई नपक्रन निर्देशन दिए । र अहिलेसम्म मञ्जु फरार छिन् ।

तर, डिएसपी धमलाले भने आफूले कसैले नपक्रनका लागि निर्देशन नदिएको उज्यालोलाई जानकारी दिए । ‘मैले कसैलाई नपक्रनका लागि निर्देशन दिएको छैन’ उनले भने । तर, डिएसपी धमलालले नपक्रन निर्देशन दिएको प्रमाण उज्यालोलाई प्राप्त भएको छ ।


सामाजिक संजालवाट साभार