सञ्चारको विकसित रुप र यसको प्रभाव

१२ आश्विन २०७६, आईतवार ०२:४१ मा प्रकाशित
जिएन पाण्डे

कुनै जमाना यस्तो थियो, देश तथा विदेशमा घटेका घट्नाको जानकारीको त कुरै छोडौँ आफ्नै परिवारमा घटेको घट्नाको जानकारी पनि घरभन्दा बाहिर भएको सदस्यले कयौं दिनपछि मात्रै थाहा पाउँथ्यो ।

परिवारबाट टाढा भएको सदस्यको सञ्चो विसञ्चो थाहा पाउने एकमात्र उपाय हुन्थ्यो चिठी पत्र आदानप्रदान । देश तथा बिदेशमा घटेका घट्नाको जानकारी पाउन राष्ट्रिय पत्रिकामा समाचार छापिएपछि वा रेडियो नेपालबाट मात्रै थाहा पाइन्थ्यो । अझ राजधानी बाहिरका जिल्लामा त त्यहीँ पत्रिका पनि दुई चार दिन पछि मात्रै पुग्थ्यो ,घट्नाले अर्कै मोड लिइ सकेको हुन्थ्यो तर गाउँ–गाउँमा बासि समाचार पुग्थ्यो । बिस्तारै सञ्चारले गति लिँदै गयो, गाउँ–गाउँमा टेलीफोन हुँदै व्यक्ति–व्यक्तिमा मोबाइल तथा ईन्टरनेट पुग्यो अझ अहिले त जमाना सामाजिक सञ्जालको भएको छ । अहिले विगतको त्यो समय सम्झिँदा एकादेशको कथा जस्तै लाग्दछ । सूचना प्रविधिले विश्वलाई मानिसको हत्केलामा अट्ने गरि खुम्च्याएको छ । डेढ दशक अघिसम्म कल्पना गर्न पनि नसकिने धेरै कुरा सूचना प्रविधिको विकासले अहिले सम्भव भएका छन् ।

हिजोआज सामाजिक सञ्जाल प्रयोग नगर्ने मानिस भेटिन मुस्किल छ । फेसबुक, ट्विटर, हृवाट्सएप, इन्स्टाग्राम लगायतका विभिन्न खालका सामाजिक सञ्जालको प्रयोगकर्ता दिन–दिनै बढिरहेका छन् । आजकल मनिसहरू चिठी पठाउन, फोन गर्न, ईमेल गर्नभन्दा सामाजिक सञ्जालमार्फत् सूचना र सञ्चो–बिसञ्चो आदानप्रदान गर्न सजिलो र भरपर्दो मान्छन् । सञ्जालमा नजोडिएका नयाँ पुस्ता भेट्न गाह्रै पर्छ । धेरैजसो आमाबुवा र हजुरआमा हजुरबा समेत कुनै न कुनै तरिकाले सामाजिक सञ्जालमा जोडिनु भएको छ । विदेशमा रहेका छोराछोरी नाति–नातिनाको फोटो र भिडिओ हेर्न उनीहरूसँग प्रत्यक्ष कुरा गर्नका लागि मात्रै भए पनि धेरैजसो आमाबुबा सामाजिक सञ्जालमा जोडिनु भएकै छ । राजनीतिज्ञ, पत्रकार, इन्जिनियर, डाक्टर, वकिल, विद्यार्थी र अन्य धेरै विधाका युवा, वयस्क, नरनारी सबैलाई एकैठाँउमा ल्याएको छ सामाजिक सञ्जालले । यी भिन्न विधाका व्यक्तिहरू एकै ठाँउमा भिन्नभिन्न किसिमले प्रस्तुत हुँदा रमाइलो मात्रै होइन सूचना आदान प्रदान र ज्ञानमूलक जानाकारी पनि उत्तिकै प्रवाह भइरहेका छन् । सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम मात्र नभएर युवादेखि ज्येष्ठ नागरिकका लागि समेत राम्रो साथी बनेसँगै नेपालमा यसको प्रयोग निकै बढेको छ । काममा व्यस्त मानिसलाई समाजिक गतिविधिसँग जोडिनेदेखि फुर्स्दिला मानिसका लागि समय बिताउने सामाजिक सञ्जाल अब हाम्रो जीवनको एउटा अभिन्न अङ्ग बनिसकेको छ ।

सामाजिक सञ्जालको इतिहास त्यति पुरानो छैन । सन् १९९७ मा सिक्स डिग्री डट कम बाट यसको सुरु भएको हो । त्यस यताको दुई दशकको छोटो यात्रामा सामाजिक सञ्जालले ठूलो फड्को मारेको छ । अहिले संसारका ३ अर्ब मानिस अथवा विश्वको पूरा जनसंख्याको ४० प्रतिशत मानिस सामाजिक संजाल प्रयोग गर्छन । नेपालजस्तो थोरै जनसंख्या भएको र कम विकसित देशमै सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडको हाराहारीमा छन जसमध्ये ७२ लाख भन्दा बढी १६ देखि ४० बर्ष समूहका व्यक्ति छन र यो क्रम निरन्तर बढ्दो छ । यहाँ फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्राम जस्ता सञ्जाल बढी लोकप्रिय छन् ।

समाजका सबै व्यवसाय र वर्गका मानिसले सामाजिक सञ्जाल प्रयोग गर्दछन । आम नागरिकको लागि अभिव्यक्तीको सबैभन्दा सजिलो माध्यम यीनै सामाजिक सञ्जाल बनेका छन । कसैका आफन्त बिरामी वा दुर्घटनामा परेर तुरुन्त रगत आवश्यक र्पयो भने सामाजिक सञ्जाल सजिलो माध्यम बनेको छ सहयोग माग्नको लागि र निकै उपयोगी र धेरैले सहयोग प्राप्त गरिरहेको पाइन्छ। सूचना पोस्ट गरेको केही समयमै हजारौं प्रयोगकर्तासम्म प्रवाह हुनेहुनाले निकै प्रभावशाली बनेको छ यो सञ्जाल । राजनीतिक पार्टीहरूले आफ्ना विचार र कार्यक्रमको जानकारी अचेल सामाजिक संजालमार्फत् नै प्रवाह गरिरहेका छन् ।

आजको यो एक्काईसौँ शताब्दी सुचना र प्रबिधिको शताब्दी हो यस अर्थमा हो कि सुचना प्रबिधिको अभाबमा आज हामी जे देखिरहेका छौँ यो सम्भब हुने थिएन । कुनै समय सुचना एक ठाऊँबाट अर्को ठाऊँमा पुर्याउन परेवाको सहारा लिईन्थ्यो भने आज कुनै पनि सुचना केहि सेकेन्डमै संसारभर पुग्छ यो सब अत्याधुनिक प्रबिधिकै कारण सम्भब भएको हो । आधुनिक प्रबिधिका आबिस्कार फेसबुक, टुईटर जस्ता सामाजिक संजालका कारण आज हामी एउटा कोठामा बसेर संसार नियाल्न सक्ने भएका छौँ । अझ यसो भनौँ आधुनिक प्रबिधिले संसारलाई एउटा कोठामा साँघुरÞ्याईदिएको छ । प्रबिधिकै कारण हामीजुन कुनामा भएपनि संसारभर रहेका लाखौँ मानिसहरूसँग सम्पर्कमा रहन सक्छौँ, आफ्ना बिचार, भाबनाहरू साटासाट गर्न सक्छौँ, न्यायको पक्षमा गोलबन्द्ध भएर बिभिन्न खालका अभियान सञ्चालन गर्न सक्छौँ ।
अर्कोतिर सामाजिक संजाल यति बेला समाचार स्रोतको पनि निक्कै सजिलो र भरपर्दो माध्यम बनेको छ ।

संसारभर घटेका घटनाहरू प्रत्येक साइटमा पुगेर अपडेटेड हुन सम्भब छैन तर फेसबुक टुइटरले छिनभर मै संचार हामीसम्म ल्याई पुर्याउँछ्न । पत्रपत्रिका, अनलाइन समाचार पोर्टल सबैले सामाजिक सञ्जालमार्फत् नै आफ्ना सूचना प्रवाह गरिरहेका छन् र मिनेटभरमै लाखौं पाठकबीचमा पुग्ने यो भरपर्दो माध्यम बनेको छ ।अहिले सूचनाको महाशक्ति सामाजिक संजालहरु, संचार माध्यमको एउटा आधुनिक धारका रुपमा स्थापित भएका छन् र यो निक्कै उपयोगी र सस्तो बनेको छ । प्राय : सञ्चारगृहमा आबद्ध संचारकर्मीहरूले कुनै सूचना आफ्नो मिडियाबाट सार्वजनिक गर्नु पूर्व नै फेसवुकमा पोष्ट, ट्विटरमा ट्वीट गरि भ्याउनुले पनि यसको पुष्टि गर्दछ ।

आहिलेको युगमा सामाजिक सञ्जाल निकै नै शक्तिशालि बनेको छ, यसले ठूलाठूला कुराहरूमा पनि दबाब सिर्जना गर्ने गरेको सुन्न पाइन्छ । कतिपय अति नै महत्वका समाचारमा समेत सामान्य व्यक्तिले पोष्ट गर्ने स्टाटस र ट्वीटलाई आधार मानेर समाचारको स्रोत पहिचान गरि प्रकाशमा ल्याइएका उदाहरणहरू प्रसस्त छन् । त्यसकारण सूचनाको महाशक्तिका रुममा समाजिक सञ्जाललाई लिन सकिन्छ । सूचना आदान प्रदानको इतिहास हेर्ने हो भने अहिले कल्पना बाहिरको विकास भएको छ सूचना प्रविधिमा । चमत्कारिक नै भएको छ । हरेक व्यक्ति सूचना प्रविधिको प्रयोग मार्फत एक क्लिकमा विश्वका गतिविधि थाहा पाईरहेका छन् । यो सूचना पाउने व्यक्तिको पहिलो आधार भनेको हाल आएर सामाजिक संजाल बनेको छ । साक्षर व्यक्तिको दैनिक जीवनको एक कर्मका रुपमा सामाजिक संजालले ठाउँ जमाएका छन् ।

सामाजिक संजालको सहि प्रयोगबाट विश्वमा ठूला ठूला अभियानहरू सम्पन्न भएका छन् । कतै सामाजिक संजालकै लोकप्रियताका कारण महत्वपूर्ण पदमा चुनाव जित्न सरल भएको छ  । सामाजिक संजाललाई विकाससँग जोडेर पनि अभियानहरू भएका छन् । जुन अभियान सकरात्मक छन् । नेपाली समाजमा त झन् सामाजिक विकासमा फेसबुक मार्फत चलाएका अभियानले गाउँको मुहारनै फेरेका उदाहरणहरू समेत हामी माझ छन् । कुनै अभियानलाई सफल पार्न, सम्बन्धलाई दिगो बनाउन, नयाँ परिवेश बारेमा जानकारी पाउन तथा व्यक्तिको अवस्थाको बारेमा समेत जानकारी गराउनमा सामाजिक संजालले महत्वपूर्णभूमिका निर्वाह गरेका छन् । यस्ता थुप्रै सकारात्मक कामहरू गर्ने मौका यसले प्रदान गरेको छ ।

सामाजिक सञ्जालको बहुआयामिक उपयोगिता रहेको भएता पनि यिनले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम पनि उत्तिकै छ । सामाजिक संजालको प्रयोग गर्न नजान्दा जति फाईदा छन् त्यतिकै बेफाइदा पनि छन् । सामाजिक संजालहरूको दुरूपयोगले यो हाम्रो लागि वरदान भन्दा पनि अभिसाप सिद्ध हुने हो कि भन्ने खतरा पनि पैदा भईराखेको छ । जसरी तीब्र गतिमा सकारात्मक सुचनाहरू संसारभर पुग्छन् त्यसरी नै नकारात्मक सुचनाहरू पनि संसारभर पुगिरहेका छन् । समाजलाई जोड्नु पर्ने सामाजिक सञ्जालले उल्टै कतै तोड्दै त छैन ? सामाजिक सञ्जालका कारण मानिस असामाजिक बन्दै गएको संकेत प्रशस्तै देखिन्छ । एकातिर सामाजिक सञ्जाल मार्फत आपराधिक गतिबिधि बढेको तथ्यांक बढ्दो छ । केहि मान्छेहरूले समाज, राष्ट्र र विश्वमै नकारात्मक प्रभाव पार्ने खालका गतिबिधिहरू सामाजिक संजालमा नियोजित रूपमा सेयर गरेर आपसी सदभाब भडकाउने काम गरिरहेका छन् ।

बिभिन्न खालका राजनीतिक,धार्मिक,साम्प्रदायिक मुद्दाहरू उचालेर विश्वलाई कुरूप पार्ने प्रयास पनि भैरहेका छन । फेक एकाउन्टहरू बनाएर मान्छेहरूलाई सताउने, दुस्ख दिने,ब्लयाकमेलिङ गर्ने तथा अरूका एकाउन्टहरू ह्याक गरेर ब्यक्तिगत सुचनाहरू लिने जस्ता थुप्रै नकारात्मक कार्यहरू पनि गरिरहेका छन् । सामाजिक संजालकै दुरूपयोगका कारण थुप्रै आत्महत्या, हत्याका घटनाहरू सुन्न र पढन पाईन्छ । भने अर्को्तिर एउटै खाटमा सुतेका श्रीमान र श्रीमती पनि एकापसमा ढाड फर्काएर अरुनै कोहीसँग च्याट गर्दै मुस्कुराइरहेका हुन्छन भन्ने गम्भीर आरोप लाग्ने गरेको छ । सूचना, प्रविधि र सोसल नेटवर्कले मान्छेलाई दासि बनाएको छ । जसको प्रयोगबाट मानिसहरू अल्छि एवं परनिर्भर समेत भएका छन् । सामाजिक संजालले कुनै अति नै सूक्ष्म कुरालाई समेत व्यापक बनाइ यदि मिडियाले त्यस कुरालाई ठाउँ दिएनन् भने पाठक, दर्शक या श्रोताले नै मिडियालाई अपूर्ण ठान्ने परिपाटिको विकास भएको छ ।

हामीले दैनिक जीवनको एक पाटोको रुपमा सामाजिक संजालको प्रयोग गरिरहँदा आफ्ना अरु महत्वपूर्ण कामहरू विर्सिएका, समयको सदुपयोग गर्न नसकिएको लगायतका थुप्रै बेफाईदा छन् । कतिपयले मानवीय संवेदनासँग जोडिएका तस्वीरलाई समेत सरल रुपमा पोस्ट गर्नु यो व्यक्तिगत मनोविज्ञानको कुरा हो । यसको गलत प्रयोगले समयको बर्बादी, सामाजिक, आर्थिक तथा राजनितिक बिकृति पनि उत्तिकै निम्त्याउँछ । यसले निकै भयावह स्थितिको संकेत गर्छ । यी बेफाईदा ती सामाजिक सञ्जालले निम्त्याएका होइनन् हामी आफैँले निम्त्याएका हौँ ।

हामीले वर्तमान परिस्थितिसँग अगाडि बढ्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ तर सीमित मात्रामा समय छुट्टयाउने, अपरिचित ब्यक्तिहरूको अनुरोध स्वीकार नगर्ने, आफूले लेखिएका कुराहरू संयमतापूर्वक र अनुशासित ढंगले अरूलाई चोट नपुर्याउने तरिकाले सम्पेषण गर्ने गरेमा अवश्य पनि नकारात्मक भन्दा सकारात्मक प्रभाव बढी पर्छ । त्यसकारण सूचना प्रविधिमा भएको विकासको भरपुर प्रयोग गरौँ ।


सामाजिक संजालवाट साभार