संविधान दिवसमा मौन बसेको छु, संविधान नै जलाउने पक्षमा छैन : मन्त्री राउत

१० आश्विन २०७६, शुक्रबार १३:२३ मा प्रकाशित
उज्यालो संवाददाता

नवलपरासी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताएका छन् । संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारका कारण स्वायत्तता नपाएको उनको भनाइ छ ।

समाजवादी पार्टी नवलपरासीले शुक्रबार परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै राउतले आफुहरु संविधान नै जलाउने पक्षमा भने नरहेको दाबी गरे। उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले आफूहरु संविधान दिवसमा मौन बसेको स्पष्ट पारे ।

उहाँले उक्त पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री राउतले भने, ‘संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरु रहेका छौँ।’ उनले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताए ।

मुख्यमन्त्री राउतले संविधानले थुप्रै उपलब्धि दिएको उल्लेख गर्दै संविधानको विरोध गर्दा व्यवस्थालाई नै असर पर्ने देखेर हामी मौन बसेका जिकिर गरे। सङ्घीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उनले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको प्रस्ट पारे । राउतले राजपा नेपालसँग एकता हुनसक्ने सङ्केत पनि गरेका छन्।


सामाजिक संजालवाट साभार