हिन्दुराज्यका लागि नेपाललाई कुनै दबाब नदिएको भारतीय भाजपा पार्टीको पुष्टि

८ आश्विन २०७६, बुधबार ११:२४ मा प्रकाशित
उज्यालो संवाददाता

एजेन्सी । भारतीय सत्तारुढ दल भाजपाको मातृ संगठन राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) का प्रमुख मोहन राव भागवतले हिन्दुराज्यका लागि नेपाललाई कुनै दबाब नदिएको प्रस्ट पारेका छन् ।

नयाँ दिल्लीमा पत्रकारसँग कुराकानी गर्दै भागवतले नेपाललाई हिन्दुराज्य बनाउनुपर्छ भनेर कुनै दबाब नदिएको बताएका हुन् । धर्मनिरपेक्ष हुने वा नहुने भनेर निर्णय गर्ने अधिकार नेपालसँग रहेको समेत उनको भनाइ छ ।

‘हिन्दू राज्य भनेको सांस्कृतिक अवधारणा हो, कुनै राष्ट्रले आफ्नो मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्छ भने त्यहाँ विवादको स्थान नै हुँदैन’, भागवतले भने, ‘त्यो सम्बन्धित मुलुकले निर्णय गर्ने अधिकार हो।’

‘संघले नेपालमा कुनै पनि दबाब दिएको छैन र दिँदैन पनि’, उनले थपे, ‘नेपाल अलग मुलुक हो र नेपालमा भइरहेका क्रियाकलापमा हाम्रो कुनै सरोकार छैन।’

त्यस्तै आरएसएसका गतिविधि भारतभित्रमात्र सीमित रहेको समेत भागवतको दाबी थियो । ‘हाम्रा गतिविधि भारतभित्र सीमित छन्, यसले आन्तरिक रुपमा आफ्ना शाखा विस्तार गर्छ’, उनले भने, ‘नेपालको भाग्य र भविष्य तय गर्ने अधिकार नेपाली जनतामा निहित छ, नेपाली जनता यसका निर्णायक हुन्।’

सत्तारुढ भाजपाले नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहेको चर्चा चलिरहँदा राससका प्रमुख भागवतले दिएको अभिव्यक्तिले ठूलो अर्थ राख्ने बताइएको छ ।


सामाजिक संजालवाट साभार