अन्तत : फुक्यो गाँठो, नेकपा काभ्रेको एकता प्रक्रियामा ‘ब्रेक थ्रु’

७ आश्विन २०७६, मंगलवार ०७:१३ मा प्रकाशित
विवेक लोप्चन

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला कमिटिको एकता प्रक्रियामा ‘ब्रेक थ्रु’ भएको छ । लामो समयदेखि विभिन्न कारणले हुन नसकेको एकता प्रक्रियामा ‘ब्रेक थ्रु’ भएको हो ।
पटक–पटक भएको छलफलपछि पनि कुनै निष्कर्ष ननिस्केपछि नेकपा काभ्रेको एकता प्रक्रियाको गाँठो फुक्न सकेको थिएन । सोमबार ३ नं. प्रदेश कमिटिको पदाधिकारी बैठकले नेकपा काभ्रेको पार्टी एकता सम्बन्धि विशेष निर्णय गरेसँगै गाँठो फुकेको छ ।
नेकपा ३ नम्बर प्रदेशका एक पदाधिकारीका अनुसार नेकपा काभ्रे जिल्ला कमिटिमा तत्कालीन एमालेबाट ६३ र माओवादीबाट ६५ जना जिल्ला कमिटि सदस्यको नाम टुंगो लागेको छ । एमालेको ६३ जना पुरानै जिल्ला कमिटि सदस्य नेकपा काभ्रेको जिल्ला कमिटि सदस्य बनेका छन् । एमालेले बाँकी १५ जना जिल्ला कमिटि सदस्य मनोनयन गर्न बाँकी छ । एमालेमा साविक एमाले जिल्ला कमिटिबाहेकबाट थप गरिएका १५ जनाकै बारेमा विवाद थियो ।
त्यसैगरी माओवादी तर्फबाट ६५ जनाको नाम टुंगो लागेको छ । यसअघि माओवादीले ६७ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये माओवादी तर्फले बाँकी २ जनाको नाम पछि मनोनयन गर्नुपर्नेछ ।
जिल्ला कमिटिको सपथबारे भने कुनै मिति तय गरेको छैन ।


सामाजिक संजालवाट साभार