हरिवन सिटी क्लबद्वारा बिलन्दी प्राविलाई २ थान कम्प्युटर हस्तान्तरण

७ आश्विन २०७६, मंगलवार ००:५३ मा प्रकाशित
Raju Tamang

सर्लाही । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १ बिलन्दीमा रहेको श्री जनसेवी प्राथमिक विद्यालयलाई आज दुई थान कम्प्युटर हस्तान्तरण गरेका छन। काठमाडौंमा रहेको हिमालयन केयर ह्यान्डसको सहयोगमा हरिवनमै रहेको हरिवन सिटी क्लबको अध्यक्ष बिनेश कार्कीले विद्यालयका प्रधानाध्यापक शम्शेरलाल राजवंशी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस बोम्जनलाई संयुक्तरुपमा कम्प्युटर वितरण गरिएको हो।

हरिवन क्षेत्रमै रहेर विभिन्न सामाजिक क्षेत्रबाट केही रचनात्मक र सकारात्मक हिसाबले हरिवन क्षेत्रलाई परिवर्तन गर्ने र परिवर्तन ल्याउने उद्देश्यका साथ नवगठित हरिवन सिटी क्लबले आफ्नो संस्थाको पहिलो काम हरिवन नगरपालिकाकै विकट मानिने बिलन्दी प्राविमा कम्प्युटर वितरण गरिएको क्लबका अध्यक्ष कार्कीले बताए।

हरिवनचौकबाट ४ किलोमिटर उत्तरमा पर्ने बिलन्दी स्कुलमा कुनै पनि संघसंस्थाले सहयोग नगरेको गुनासो भैरहेको बेला यस्तो अती आवश्यक ठाउँ भएकोले र आफुहरुले बाँडेको सामानको सही तरिकाले सदुपयोग होस भन्ने हिसाबले आफुहरुको संस्थाको पहिलो प्राथमिकता रहेको अध्यक्ष कार्कीले बताए।

हरिवन नगरपालिकाभित्रका केही विद्यालयहरुमा छिट्टै बाँकी कम्प्युटर दशैं अगाडी नै वितरण गरिसक्ने योजना रहेको क्लबका उपाध्यक्ष गुन्जलाल घलानले बताए। आफुले पढेकै विद्यालयको शैक्षिक स्तर गुणस्तरीय होस भन्ने हेतुले विद्यालयलाई कम्प्युटर वितरण गरिएको कार्यक्रमका समन्वयकर्ता तथा क्लबका सह-सचिव राजु लो तामाङले बताए।

प्रधानाध्यापक राजवंशीले विकट ठाउँ र भौतिक स्रोत साधनको कमि भएकै कारण शिक्षक शिक्षिकाले अलि प्रभावकारी रुपमा शिक्षा दिन नसकिएको अवस्थामा आफुहरुको विद्यालयमा यसरी संस्थाले विद्यार्थीको हितका लागि सहयोग गरेकोमा संस्थालाई विद्यालय परिवारको तर्फबाट सहयोगी दाताहरुलाई धन्यबाद समेत व्यक्त गरे। कार्यक्रममा हिमालयन केयर ह्यान्ड्सका प्रतिनिधि व्यक्तिहरु र क्लबका सदस्यहरु सुमित भण्डारी, रोशन बराईली सुस्मिता ब्लोन, मेनुका खड्का विद्यालय परिवार, स्थानीय अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेका थिए।

वि. सं. २०५० सालमा स्थापना भएको यश विद्यालयमा कक्षा पाँच सम्म पढाई हुन्छ विशुद्ध तामाङ बस्ती मात्रै रहेको र तामाङ विद्यार्थी मात्रै रहेको विद्यालयमा हाल २३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन।


सामाजिक संजालवाट साभार