नेपालमा उत्तर कोरियाली लगानीमा प्रतिबन्ध, व्यवसाय बन्द गर्न एक महिने अल्टिमेटम

३० भाद्र २०७६, सोमबार १२:२७ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । संयुक्त राष्ट्र संघका केही प्रावधान र अमेरिकाको दबाबपछि नेपालमा रहेका उत्तर कोरियाली व्यवसाय बन्द हुने भएका छन् । सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित नौ वटा व्यवसाय बन्द गर्न एक महिने अल्टिमेटम दिएका हुन् ।

भदौ तेस्रो साताबाट एक महिनाभित्र अर्थात अक्टोबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको उद्योग विभागले जनाएको छ ।

उद्योग विभागका अनुसार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव नम्बर २३९७ अनुसार नेपालले उत्तर कोरिया र त्यहाँका नागरिकले लगानी गरेको व्यवसाय बन्द गर्नुपर्ने हुन्छ ।

प्रस्तावमा उत्तर कोरियाले प्रतिबन्धित आणविक कार्यक्रम सञ्चालन गरेकाले कडा नाकाबन्दी लगाउने उल्लेख छ । यस सम्बन्धमा संयुक्त राष्ट्र संघले नेपालको परराष्ट्र मन्त्रालयलाई गएको वर्ष नै पटक–पटक पत्र पठाएको थियो ।

विभागका निर्देशक प्रेम लुईटेलका अनुसार केही व्यवसाय सञ्चालनमा थिए भने केहि उद्योग विभागमा दर्ता भएर सञ्चालनको तयारीमा थिए । तर, संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता पठाउन थालिएको विभागका निर्देशक लुईटेलले बताए ।

उनकाअनुसार लगानी फिर्ता लैजान नेपालस्थित कोरियाली दूतावासलाई पटकपटक आग्रह गरेको थियो । दुई पटकसम्म दूतावासका डीसीएम किम जोङसँग मौखिक साझदारी पनि भएको थियो ।

यो सँगै उत्तर कोरियाली लगानीका लागि नेपालमा बाटो बन्द भएको छ। सरकारको यो निर्णयसँगै उत्तर कोरियाली नागरिकले नयाँ उद्योग दर्ताका लागि निवेदन दिन पाउँदैनन् । व्यवसायीको व्यापारिक प्रयोजनका लागि भिसा थप हुने छैन। तर भ्रमण भिसामा भने उत्तर कोरियाली नागरिक नेपाल आउन सक्छन् ।

उद्योग विभागकाअनुसार उत्तर कोरियाली नागरिकले नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयर निमार्ण क्षेत्रका व्यवसायमा लगानी गरेका छन् ।

यस्ता छन् पत्र


सामाजिक संजालवाट साभार