अर्बौ कर नतिर्ने एनसेल देशबाटै लखेट्छौ : विप्लव

२३ भाद्र २०७६, सोमबार १४:२५ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एनसेलले न्यायालय, नेता र मन्त्रीलाई प्रभावमा पारेर करछली गरिरहेको बताएका छन् । उनले नेपाल टेलिकम हुँदाहुँदै एनसेल प्रयोग गर्नुपर्ने कुनै बाध्यता नभएको भन्दै देशबाटै लखेट्नु पर्ने बताएका छन् ।

सर्वोच्च अदालतले लाभकरमा छुट दिने गरेको पछिल्लो फैसला राष्ट्रघाती भएको भन्दै चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । उनले सर्वोच्चको फैसला सच्याउन चेतावनी समेत दिएका छन् । उनले एनसेलले कर छलि गरेर देश र जनतालाई कंगाल बनाइरहेको तर सरकारले देशको सम्पतीको रक्षा गर्नुको साटो गम्भीर अपराध गरिरहेको बताएका छन् ।

विप्लव अगाडि भन्छन्- ”भदौ १० गते सर्वोच्च अदालतले एनसेल कर असुलीबारे अत्यन्त विवादास्पद निर्णय गरेकोप्रति पार्टीको ध्यान विशेष रुपले तानीएको छ । एनसेलले ७५ अरब कर छली गरेर जनता र देशलाई कंगाल बानाइरहेको स्पष्ट छ । एनसेलको ठगीप्रति हर नागरिक चिन्तित र आक्रोसित छन् । नालायक भ्रष्ट सरकारले देशको सम्पत्ति रक्षा गर्नुको साटो मिलोमतो गरेर गम्भीर अपराध गरिरहेको छ । सरकारकै इसरामा सर्वोच्चका केही भ्रष्ट न्यायधिसहरुले आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसलालाई उल्टाउँदै एनसेलले साढे १८ अरब तिर्न नपर्ने राष्ट्रघाति निर्णय गरेका छन् । संसदवादी पार्टीहरु नेकपा (एमालेमाके), काँग्रेस, समाजवादी कोही पनि बोलिरहेका छैनन् । हाम्रो पार्टी कथित न्यायधिसहरुको यो फैसलाको घोर भत्र्सना गर्दछ साथै यस निर्णयलाई खारेज गर्न चेतावनी दिन चाहन्छ ।” उनले देशघाति, जनघाति निर्णयलाई खारेज गराउन संघर्षमा उत्रिन सबैलाई अपील समेत गरेका छन् ।

नेपाल टेलिकम चलिहरेको अवस्थामा एनसेल प्रयोग गर्नुपर्ने कुनै बाध्यता नभएको भन्दै विप्लवले एनसेल बहिस्कार गर्नेबारे सोच्न सबैलाई आग्रह गरेका छन् । त्यसैगरी विप्लवले अदालतको पछिल्लो निर्णयपछि आफ्नो पार्टी एनसेललाई नेपालबाटै खारेज गर्ने निष्कर्षमा पुग्न लागेको समेत बताएका छन् ।

विप्लव अगाडि भन्छन्, ‘हाम्रो पार्टीले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको छ । त्यही कारणले केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको छ । अदालतको यो निर्णयपछि हाम्रो पार्टी एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुग्दै छ । एनटिसी चलिरहेको अवस्थामा एनसेल हाम्रो बाध्यताको ब्यापार होइन तसर्थ सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न हार्दिक अपिल गर्दछौं । साथै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्न आग्रह गर्दछौं ।’

विप्लव सार्वजनिक गरेका संघर्षका कार्यक्रमअनुसार भदौ २३ गते एनसेलका कार्यालयहरुमा तालाबन्दी गर्ने रहेको छ । त्यस्तै भदौ २६ गते भ्रष्टाचारीलाई कालोमोसो दल्ने रहेको छ । यसअघि भदौ १९ गते देशभरी मशाल जुलुस, भदौ २१ गते एनसेलका कार्यालयहरुमा विरोध प्रर्दशन भइसकेको छ ।


सामाजिक संजालवाट साभार