सिरहा सहितका प्रदेश नं.२ का जिल्लाहरुमा रक्षाबन्धन पर्वको चहलपहल बढयो

२७ श्रावण २०७६, सोमबार ०५:१६ मा प्रकाशित
उज्यालो संवाददाता

गणेश कुमार ठाकुर
सिरहा,श्रावण २६ गते । सिरहा सहितका प्रदेश नं.२ का जिल्लाहरुमा राखी (रक्षाबन्धन) पर्वको चहलपहल बढेको छ । साउन पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थाले सँगै प्रदेश नं.२ का जिल्लाहरुमा अहिलेको दिनमा राखी पर्वको रमझम बढेको हो ।
मिथिलाका फुटपाथे पसल वा पान पसल..! सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेका छन् । चारै तिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण प्रदेश नं.२ का जिल्लाहरुमा अहिले राखीमय देखिएको छ ।

मधेश जिल्लाहरुमा अहिले दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मिठो धुन गुञ्जिरहेको छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी, साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरा) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै राखीको तयारीसँग सम्बन्धित हुने गरेका छन् । विवाह भएर गएका चेली (दिदीबहिनी)हरु मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइ कहाँ छन् ? पत्ता लगाएर राखी बाँध्न आउने निम्ता दिन व्यस्त छन् ।
त्यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिनमा तल्लिन रहेका देखिँदो छ । साउन शुक्लपक्ष शुरु भएयता दाजुभाइप्रति देखाइने वास्ता र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न सिरहाबजार पुगेकी एक महिलाले बताएकाी छीन । यही आउने साउन ३० गते बिहीबारका दिन मनाइने यो पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिँदो छ ।

प्रदेश नं.२ का जिल्लाहरुमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष शुरु भएयता बजारहाटमा आ–आफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी मिथिलाका नारीको चहलपहल बढेको सिरहा जिल्ला मिर्चैया बस्ने समाजसेवी प्रदिप साहले बताउनुहुन्छ ।
पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोवार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त देखिन्छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीको भनाइ छ । पर्वका लागि अब केही दिन मात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फुर्सद नभएको मिर्चैयाबजारमा राखी बिक्री गर्दै आएका रामकुमार साहले बताउनुभयो ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलीलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलीको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेली र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको मिर्चैया नगरपालिका वडा नं.६मा बस्न ७० वर्षेका प्रभु नरायाण साहले बताउनुभयो ।
पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन अझै देखिँदैछ ।
पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधिदिन पर्वको तयारीमा लागिपरेको देखिएको छ ।
पछिल्ला दिनहरुमा पर्व हिन्दू धर्मावलम्बीको मानिदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीयपक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरुले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने गरेको छ ।


सामाजिक संजालवाट साभार