भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा वेष्ट इन्डिजको हार

२७ श्रावण २०७६, सोमबार ०४:२७ मा प्रकाशित
उज्यालो संवाददाता

२७ साउन, काठमाडौं । भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा वेष्ट इन्डिजले हार बेहोरेको छ ।

क्विन्स पार्क ओभलमा भएको खेलमा घरेलु टोली वेष्ट इन्डिजलाई भारतले ५९ रनले पराजित गरेको हो । ४६ ओभरमा २७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ४२ ओभरमा सबै विकेटको क्षतिमा २१० रन मात्रै बनाएपछि हार बेहोर्नु परेको हो । वेष्ट इन्डिजले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेपछि खेल ४६ ओभरमा छोट्याइएको थियो ।

वेष्ट इन्डिजका लागि इभिन लेविसले ६८ र निकोलस पुरनले ४२ रन बनाए । भारतका लागि बलिङतर्फ भुवनेश्वर कुमारले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २७९ रन बनाएको थियो । भारतको जितका लागि कप्तान विराट कोहलीले १२० र श्रेयस ऐयरले ७१ रन को योगदान दिए ।


सामाजिक संजालवाट साभार