जनयुद्धको हिंसात्मक कुनै क्रियाकलापमा मेरो प्रत्यक्ष सहभागिता छैन : प्रचण्ड (भिडियो हेरौँ)

२४ श्रावण २०७६, शुक्रबार १३:५४ मा प्रकाशित
उज्यालो संवाददाता

समाजको बेथितिको अन्त्यका लागि म झण्डै–झण्डै अर्धपागल भएरै विद्रोहमा गएको हुँ । सबै बेथितिहरु सहन नसकेपछि म युद्धतिर गएको हुँ । तर म यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन, कसैको एक लपेटो खाएको पनि छैन । मेरो नेतृत्वमा त्यत्रो युद्ध भयो, अनौठो लाग्छ मान्छेहरुलाई । हजारौँको बलिदान पनि भयो । तर, त्यसको कमाण्डर म । जसको हिंसात्मक कुनै क्रियाकलापमा कहीँ प्रत्यक्ष सहभागिता छैन । मान्छेहरुलाई पत्याउन गाह्रो हुने स्थिति छ ।

कतिपयले आजभोलि मलाई बडो हिंस्रक मान्छे भन्ने गरेका छन् । अपराधिक भनेका छन् । गाउँघरमा झगडा भएको छ भने साँचो कुरा कसले भन्छ भन्यो भने यसले भन्छ भनेर मलाई लैजाने गर्दथ्यो । अहिले पनि मेरो बारेमा तपाईहरुले बुझ्नुभयो भने म त्यस्तो खालको पात्र हुँ ।

तर, परिस्थितिले मलाई विद्रोहको नेतृत्व गर्ने ठाउँमा पुर्याएकै हो, मैले गरेकै हो, सबै जिम्मा मैले लिनुपर्छ, लिएको पनि छु । सबै जिम्मा मेरो हो भनेको पनि छु । फेरि म नै यस्तो विद्रोहको नेता पनि हो, जसले यो विद्रोहलाई शान्तिपूर्ण रुपान्तरण गर्ने, शान्ति सम्झौतामा ल्याउने त्यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्ने । लोकतान्त्रिक प्रक्रियामा प्रवेश गर्ने र यो प्रक्रियामार्फत् सामाजिक रुपान्तरणमा गति दिने कुराको नेतृत्व गर्ने अवसर प्रदान गर्ने एक विशिष्ट व्यक्तिमा पनि म पर्न गए । मलाई तपाईहरुले र नेपाली जनताले यो ठाउँमा पुर्याइदिनुभो ।

हामी सबैले देशको परिस्थितिलाई सकारात्मक दिशा दिनका लागि सबैले आत्मसमीक्षा गर्ने, भएका कमीकमजोरीहरु सच्याउन पहल गर्ने र अब समस्या समाधानका निम्ति संकल्प गर्ने दिन हो । किनभने हामी कसैलाई दोष दिने ठाउँमा छैनौँ । राजतन्त्रको विरुद्धमा मिलेर लड्यौ, गणतन्त्र मिलेर ल्यायौँ, संविधान मिलेर ल्यायौँ, निर्वाचन मिलेर ल्यायौँ, देश हामीले मिलेर बनाउँछौँ भनेका छौँ । त्यसैले आपसमा मिलेर देश बनाउनुको विकल्प छैन । अरु कुनै विकल्प पनि छ कि भनेर मान्छेले अध्यारोँमा ढुंगा हान्न खोजेको त देखिन्छ, तर त्यसको कुनै असर देखिने छैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर हामीले जुन नेपाल निर्माणको संकल्प गरेका छौँ, यसका लागि सामुहिक रुपमा अगाडि बढ्नुको विकल्प परिवर्तनका सहयात्रीसँग छैन ।

‘शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्धसंग्रह लोकार्पण समारोहमा अध्यक्ष प्रचण्डले दिएको मन्तव्यको सम्पादित् अंश ।

भिडियो हेरौँ

शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्धसंग्रह लोकार्पण समारोह ।। २०७६ साउन २४ गते शुक्रबार

Geplaatst door क. प्रचण्ड / Comrade Prachanda op Vrijdag 9 augustus 2019


सामाजिक संजालवाट साभार