उत्तरवाहिनीमा बोलबम यात्रा गर्नेको भीड

२१ श्रावण २०७६, मंगलवार ०५:२६ मा प्रकाशित
उज्यालो संवाददाता

गणेश कुमार ठाकुर/
सिरहा । हिन्दू धर्मावलम्बीहरूले शिवको महिमा गाउने महिना हो साउन । साउन चढेसँगै जताततै बोलबमको चहलपहल बढ्दो देखिएको छ । विशेष गरी साउनको हरेक सोमबार गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ ।

जलाशयबाट जल ल्याई “बोलबम” भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिएको छ । हरेक सोमबार बोलबम यात्रा गर्नेहरुको ठूलो भीडले सिरहा जिल्लाको मिर्चैया समेत बोलबममय भएको छ ।

सिरहा जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थलको रुपमा मानिने उत्तरवाहिनी बोलबम यात्रा गर्ने यात्रीहरुको बढ्दो चहलपहलले खास गरेर कर्जन्हा नगरपालिका बन्दीपूर चौकमा कावरियाहरुको भिड बढी देखिन्छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित उत्तरवाहिनीमा वर्षे्नि बोलबम कार्यक्रमको आयोजना गरिदै आइएको छ । उत्तरवाहिनी स्थित कमला नदीमा कावरियाहरु स्नान गरी जल लिएर आफ्नो बोलबम यात्रा तय गर्छन् ।

बोलबम कार्यक्रम पछिल्ला वर्षमा संस्कृतिका रूपमा विकास हुँदै गएको छ । बोलबम यात्रामा युवायुवतीको आकर्षण पनि उत्तिकै छ । साउन महिनामा नेपालका विभिन्न ठाउँबाट भक्तजन उत्तरवाहिनी आउने गरेका छन् । पछिल्लोे समय विभिन्न ठाउँहरुबाट बोलबम यात्राका लागि उत्तरवाहिनी आउनेक्रम वृद्धि भएको छ ।

साउन महिनाको सुरुवातसंगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । साउन महिनामा परेको सोमबारको दिन सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् । असल श्रीमान पाउँने उद्देश्यले आफुहरु साउनमा सोमवारी व्रत बस्ने गरेको महिलाहरु बमहरुले बताउछिन् । महिलाहरु हातमा मेहन्दी, चुड्ी र हरियो बस्त्रमा अहिले नव दुल्ही झै सजिएकी छिन् । पहिले गाउँघरमा मेहन्दी पाईंदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्ने गर्थे । तर हिजो आज गाउँ–गाउँमा पनि मेहन्दी पाइन्छ । के सहर के गाउँ अहिले साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ ।

धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा पनि यो चलनलाई स्वीकार गरेका छन् । साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ ।


सामाजिक संजालवाट साभार