विप्लव समूहका धनकुटा-मोरङ सेक्रेटरी दिपक राई पक्राउ

९ श्रावण २०७६, बिहीबार १२:१५ मा प्रकाशित
उज्यालो संवाददाता

विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाका धनकुटा- मोरङ सेक्रेटरी मोरङको केराबारी गाउँपालिका-३ का दीपक राई पक्राउ परेका छन् ।  ४५ वर्षीय राईलाई बिहीबार प्रहरीको विशेष टोलीले केराबारी-३ बाटै पक्राउ गरेको जानकारी मोरङ प्रहरी प्रमुख एस.पी. विश्व अधिकारीले दिए।

उनका अनुसार राईलाई एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। सरकारले प्रतिबन्ध लगाएपछि राई आफ्नो घर छाडेर भूमिगत बनेका थिए। अधिकारीका अनुसार आफ्नो घरमा नआए पनि सोही ठाउँको कुनै एउटा घरमा उनी सेल्टर लिएर बस्ने गरेको सूचना प्रहरीमा थियो।

मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा विप्लव समूहले गराएका विभिन्न घटनामा राईको संलग्नता रहेको खुलेपछि गम्भीर रुपमा अनुसन्धान अघि बढाइएको एस.पी. अधिकारीले बताए।उनी विरुद्ध कुन मुद्दा चलाउने भन्ने बारेमा यकिन हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ।


सामाजिक संजालवाट साभार