गुल्मीमा पहिरोले पुरिँदा एकै परिवारका ८ जनासहित् १० को मृत्यु, २ वेपत्ता

७ श्रावण २०७६, मंगलवार ०८:४३ मा प्रकाशित
उज्यालो संवाददाता

गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै २ वेपत्ता छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ भने वडानम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ ।

मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरुको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एकजना बालक सन्दीप बिक मावली घरमा गएकाले जिवितै रहेको बताइएको छ ।

सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । उनीहरु आमाछोरा हुन् ।

सोही वडामा रुद्र बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । सोमबार रातिदेखि परेको अबिल वर्षातले घरमाथिबाट पहिरो जँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।


सामाजिक संजालवाट साभार