विप्लव नेकपाको गोप्य बैठकमा प्रहरीको घेरा, बैठकस्थलबाट १८ पक्राउ

२६ जेष्ठ २०७६, आईतवार ०४:५१ मा प्रकाशित
उज्यालो संवाददाता

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोप्य बैठकमा घेरा हालेर प्रहरीले १८ जना नेता कार्यकर्ता पक्राउ गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेकपाको बैठकस्थलबाट १८ नेता कार्यकर्ता पक्राउ गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले अन्नपूर्ण गाउँपालिका–११ उरीबाट शनिबार राति पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा विप्लवका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

पक्राउ परेका अन्य नेता(कार्यकर्ताको नाम सार्वजनिक गरिएको छैन। उरी क्षेत्रमा केही दिनयता विप्लवका गतिविधि बढेको प्रहरीलाई सूचना आएको थियो। त्यही सूचनाका आधारमा शुक्रबारदेखि नै प्रहरीले विशेष टोली परिचालन गरेको थियो।


सामाजिक संजालवाट साभार