लोक सेवाको परीक्षा दिँदा के गर्ने, के नगर्ने ?

१८ बैशाख २०७६, बुधबार १२:२१ मा प्रकाशित
उज्यालो संवाददाता

विभिन्न प्रशासनिक सेवामा प्रवेश पाउन लोकसेवा आयोगद्वारा लिइने खरिदार, नायव सुब्बा तथा शाखा अधिकृतको विभिन्न चरणको परीक्षा तीन चरणमा सञ्चालन हुन्छ, प्रारम्भिक, मूख्य परीक्षा र अन्तर्वार्ता । प्रारम्भिक परीक्षा एउटा स्क्रीनिङ टेस्ट हो, जसको उद्देश्य हुन्छ, जुन परीक्षार्थी यो परीक्षालाई लिएर गम्भीर छैन उसलाई बाहिर निकाल्नु । यो परीक्षा यस कारण पनि महत्वपूर्ण मानिन्छ कि यसमा सफल नभएसम्म मुख्य परीक्षामा सम्मिलित हुन पाइँदैन ।

प्रारम्भिक परीक्षाको प्रकृति वस्तुनिष्ठ तथा वैकल्पिक प्रकारको हुन्छ, जसको उद्देश्य परीक्षार्थीलाई अध्ययनको व्यापकता र तत्काल निर्णय लिने क्षमतालाई जाँच्नु हुन्छ । यो परीक्षामा गरिएको राम्रो प्रदर्शन नै अन्तिम छनोट तथा तह निर्धारणमा सहायक हुन्छ । यसमा प्राप्त अंकले नै सफलताको आधार तय गर्छ । लोक सेवा आयोगको परीक्षाको दोस्रो चरण सर्वाधिक महत्वपूर्ण र निर्णायक मानिन्छ । परीक्षाको अन्तिम चरण अन्तर्वार्ताको माध्यमले परीक्षार्थीको व्यक्तित्व एवं उसको समसामयिक जागरुकताको जाँच गरिन्छ ।

परीक्षामा के गर्ने ?

– कतिपय परीक्षार्थी प्रश्नपत्र हातमा पर्ने बित्तिकै उत्तर लेख्न थाल्छन् । यसरी उत्तर लेख्दा कहिल्यै अंक प्राप्त हुँदैन । अतः पहिले प्रश्नको मागलाई ठीकसँग बुझ्नुपर्छ, फेरि त्यसको महत्वपूर्ण भागलाई रेखांकित गरेपछि मात्र उत्तर लेखन सुरु गर्नुपर्छ ।

– प्रश्नसँग सम्बन्धित विशिष्ट शब्द जस्तो कि विवेचना, विश्लेषण, आलोचनात्मक समीक्षा आदिलाई पनि बुझ्नुपर्छ । यी शब्द उत्तरको रूपरेखा सुनिश्चित गर्न सहायक हुन्छन् ।

– जुन प्रश्नको उत्तर परीक्षार्थीलाई थाहा हुन्छ, त्यसमा उनीहरू शब्दसीमाको ख्याल गर्दैनन् र जहिले पनि बढी लेख्छन् । यसको प्रभाव अन्य प्रश्नमाथि पर्छ । त्यसैले शब्दसीमाको पालन आवश्यक छ, जसले गर्दा सबै प्रश्नको सन्तुलित उत्तर दिन सकियोस् । शब्दसीमाको पालन नगर्दा अंक पनि काटिन्छ ।

– परीक्षामा कुनै पनि विषयको राम्रो प्रस्तुतिका लागि आवश्यक छ, त्यसको बोधगम्यता । एउटा प्रभावशाली उत्तरमा विषयको तथ्यात्मक जानकारी मात्र पर्याप्त हुँदैन, त्यसमा स्पष्टता, विचारमा सम्बद्धता, विश्लेषण, क्रमबद्धता र प्रवाह आदि हुनु आवश्यक छ । कतिपय अवस्थामा कुनै प्रश्नको उत्तर जान्दाजान्दै पनि त्यसको सुरुवात कसरी गर्ने ? भन्ने भ्रम देखापर्छ । त्यसैले कुनै पनि प्रश्नको उत्तर लेख्नुपूर्व सबैभन्दा पहिले त्यसको प्रारूप बनाउनुपर्छ । उत्तर लेख्दा एउटा राम्रो भूमिका, मुख्य भाग र निष्कर्ष आदि उल्लेख हुनुपर्छ ।

– लोकसेवा आयोगको परीक्षामा भाषामा राम्रो पकड भएका परीक्षार्थीले सधैं राम्रो प्रदर्शन गर्छन् । भाषाको विविध प्रयोगलाई बुझ्नुपर्छ । जुन शब्दको व्याकरणीय शुद्धतामा द्विविधा छ त्यहाँ कुनै पर्यायवाची शब्द प्रयोग गर्नु उपयुक्त हुन्छ । परीक्षामा यथासम्भव सरल र सहज भाषा नै प्रयोग गर्नुपर्छ । भाषालाई अलंकारिक बनाउनुभन्दा सम्प्रेषणीय गुणमा ध्यान दिनुपर्छ ।

– आफ्नो उत्तरलाई अरुभन्दा भिन्न देखाउन यथासम्भव ग्राफ, मानचित्र र महत्वपूर्ण पंक्तिलाई रेखांकित गर्ने जस्ता कार्य गर्नुपर्छ । उत्तरलाई प्रासंगिक बनाउन त्यसलाई समसामायिक घटनासँग जोडेर पनि देखाउन सकिन्छ ।

– यदि प्रश्नको स्वरूप निबन्धात्मक छ भने त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । निबन्धमा शब्दको संख्या वा त्यसको लम्बाई होइन, त्यसको सटीक प्रस्तुतीकरण महत्वपूर्ण हुन्छ । त्यसैले यसमा भाषा, विचार, स्पष्टता, क्रमबद्धतालाई वा लेखनमा प्रवाह आदिको ख्याल राख्नुपर्छ ।

– परीक्षाका लागि निर्धारित समय महत्वपूर्ण हुन्छ । धैर्यपूर्वक प्रश्नपत्र हेर्नुपर्छ र यो निर्णय लिनुपर्छ कि कुन–कुन प्रश्न हल गर्नुछ । सबै प्रश्नको उत्तर लेखिसकेपछि २० देखि २५ मिनेटको समय केही तथ्यात्मक गल्ती सुधारका लागि छुट्याउनुपर्छ ।

– सबैभन्दा महत्वपूर्ण कुरा धैर्य र सहजता हो । पूरै तयारीका बावजुद परीक्षामा केही प्रश्न यस्ता आउँछन्, जुन अनपेक्षित हुन्छन् । यस्तो अवस्थामा धैर्यपूर्वक आफूले जानेको प्रश्न हल गर्नुपर्छ र त्यसपछि कठिन प्रश्नतर्फ बढ्नुपर्छ ।

परीक्षामा के नगर्ने ?

१) प्रश्न पढ्न हतार नगर्नुस् ।

२) शब्दसीमाको उल्लंघन नगर्नुस् ।

३) धेरै अलंकारिक भाषाको प्रयोग नगर्नुस् ।

४) कम अंकभार भएको प्रश्नको उपेक्षा नगर्नुस् ।

५) निबन्धात्मक प्रश्नविना प्रारूप नलेख्नुस् ।

६) अनिवार्य प्रश्नको उपेक्षा नगर्नुस् ।

७) ठूलोठूलो अनुच्छेद नलेख्नुस् ।

८) समय सीमाको ख्याल गर्नुस् ।

९) जे मन लाग्यो त्यही लेखिदिने प्रवृत्तिबाट बँच्नुस् ।

१०) परीक्षा हलमा तनावग्रस्त रहनु हुँदैन ।


सामाजिक संजालवाट साभार