‘५० जनाभन्दा बढी कामदारहरुलाई रोजगार दिन सकेका छौं’

कृष्ण श्रेष्ठ बनेपामा रहेको भिआईपी नेवारी खाजा तथा भिआइपी थकाली र हिमालयन अर्गानिक कफी बेकरीका सञ्चालक हुन् । यी दुवै व्यवसायमा सफलता मिलेपछि उनले बनेपामै सुविधा सम्पन्न र स्तरीय लजसहित्को होटल भ्यू एण्ड पाहुना घर सञ्चालनमा ल्याएका छन् । बनेपा नगरपालिकाको पछाडि रहेको यस होटलको टपबाट बनेपा बजारको दृश्य अवलोकन गर्न सकिन्छ । कुनै समय कृष्ण विदेश जान भौतारिरहेका थिए । त्यतिबेला नै उनलाई कसैलाई जागिर दिन सक्नुपर्छ भन्ने लाग्यो । र, अहिले उनले दर्जनौँलाई जागिर दिएका छन् । उनै प्रेरणाका स्रोत कृष्णलाई हामीले केही प्रश्न सोधेका छौँ ।

० यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
यो क्षेत्रमा सुरुवाती दिनहरुमा जागिर खाने माहोल थियो । भनेको बेलामा जागीर पनि पाई हाल्दैन थियो र जागीर पाईहाले पनि भनेको जस्तो आवश्यकता पूरा गर्न सक्ने खालको तलव पाईदैन थियो । त्यस वेलामा नेपालमा पर्याप्त मात्रामा जागीर नभएपछि त्यो बेला रोजगारको लागि जुन विदेश जाने माहोल थियो । यसै गरी म पनि एसएलसी सकिने बितिकै जागीरको लागि काठमाडौ छिरे र कामगर्न थालेँ ।

काम गरे पनि आफुलाई चाहिने आधारभूत आवश्यकता समेत पुरा गर्न धौँ-धौ पर्यो । अनिमैले विदेश जानेसोच बनाए । त्यति वेला विदेश जानेको माहोल चलेको थियो, त्यसै सिलसिलामा म पनि दौडिरहेको थिएँ । मेनपावरमा धाउँदा धाउँदै धेरै भीड देख्थें, एयरपोर्ट जाँदा, पासपोर्ट लिन जाँदा पनि उतिकै भीड देख्थें । त्यो भीड देखेपछि मेरो मनमा अब यो भिडलाई रोक्न मबाटै सुरु गछु भन्ने सोच पलायो ।

म विदेश जाने होइन कि विदेश जानेलाई रोक्ने सोच बनाएँ । रोक्न त रोक्ने तर मध्यम वर्गको मान्छे, किसानको छोरो के गर्न सकिन्छ त ? के गर्न सकिन्छ भनेर सोच्दा आफू पहिला होटल क्षेत्रमा काम गरेको थिएँ, धेरै ठूलो काम त गर्न सकिँन्न तर सानो सुरुवात गर्न सकिन्छ भन्ने हिसाबले बनेपामा नोवारी खाजा घरको स्थापना गरें । जसमा भाइ, म र अंकल गरी ३ जनाको टिम लगातार लाग्दै गयौं । यसमा दिदीहरू र परिवारको पनि सकारात्मक साथ मिल्यो ।त्यसपछि मैले १/२ जना गर्दै रोजगारीहरु पनि दिदै गएँ ।

त्यसपछि मैले के सोचें भने जागिर खाने होइन, जागिर खुवाउनुपर्ने रहेछ । अहिले विदेशमा जाने जुन लर्काे छ, यसलाई मेरो व्यक्तिगत तर्फबाट पनि रोक्नुपर्छ है भन्ने सोच आयो । किनकी मानिसहरु खाली नेपालमा रोजगार छैन मात्रै भनिरहेका हुन्छन् । एउटा शिक्षित देखि अशिक्षितव्यक्तिसम्मको मुखमा त्यही नै आउँछ । छैन मात्रभनेर त भएन, किनभएन, हामीले खोजी गर्नु पर्यो नि । त्यसपछि मैले नेवारी खाजा घर सञ्चालन गरें । व्यवसाय राम्रो हुँदै गएपछि मैले कर्मचारीहरु बढाउँदै गएँ ।

अहिले ५० जनाभन्दा बढीले रोजगारी पाएका छन् र यसमा मलाई गर्व लाग्छ ।नेपाल सरकारले विदेश जाने रोक्ने रे, रोजगारी पनिदिन सक्नुपर्यो नि । रोकेर मात्रै हुँदैन त्यसले झन् विकृतिमात्रै फैलाउँछ । त्यो कुरालाई पनि मैले मन मालिएँ। जति पनि व्यवसाय छन्, मैले पनि कमाइ राखेको छु र यो नेपाल सरकारलाई पनि फाइदा नै हो जस्तो मलाई लाग्छ ।

किनकी म जस्तो युवाले ४०/५० जनालाई रोजगार दिइरहेको छु र म के सन्देश दिन चाहन्छु भने म जस्तै गरी अन्य व्यक्तिहरूले पनि यसरी नै सोच्ने हो भने हामी रोजगारीको लागि विदेश धाइरहनु परेन ।सबैले आफ्नो ठाउँबाट रोजगारीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्नु निकै आवश्यक छ ।

० सुरुवाती दिनहरु कतिको चुनौती पूर्ण रह्यो ?
धेरै चुनौतीहरु पार गरियो ।मध्यम वर्गको व्यक्ति गाउँबाट आएको, यो ठाउँमा घुलमिल हुन धेरै संघर्ष गर्दै चुनौतीहरु पार गरियो । सुरुका दिनहरुमा पब्लिक रिलेशन पनि थिएन र आर्थिक पनि त्यति पहुँच थिएन ।

धेरै संघर्षहरु गरियो, ग्राहकहरुले गर्ने व्यवहारहरु राम्रै थियो । रामै गर्ने मान्छेको कहिले पनि नराम्रो हुँदैन भन्ने मनमाथियो र हरेस खाइनँ ।खाने मान्छेहरुले खाने र पछि थर्काएर जाने जस्तो प्रवृत्ति पनि थियो ।तैपनि मैले हार मानिनँ, एक दिन यी मान्छेहरुले पनि बुझ्छन् भन्ने विश्वास थियो । कतिपय साथीहरु बुझेर पनि बुझ पचाएर हेपाहा प्रवृति ल्याउँथे भने कतिपय साथीले हौसला पनि प्रदान गर्थे ।त्यही हौसला लाई साथ लिएर धेरै चुनौतीहरु पार गर्दै अगाडि बढें । जुनसुकै कामहरु गर्दा अवरोध त आउँछ नै तर अवरोधहरु पारगर्दै अघि बढ्नु नै बुद्धिमानी हो ।

० कामदार भएर कामगर्दा र अहिले आफ्नै व्यवसाय गरि रहँदा कस्तो अनुभुति पाउनु भयो ?
यसमा म आफूलाई गौरवको महसुस गर्छु ।पहिला म एउटा रेष्टुरेन्टमा साधारण कर्मचारीको रुपमा काम गर्थें । त्यसबेला देखि नै मनमा के आउँथ्यो भने यो मेरो जिम्मेवारी हो, यो मैले गर्नै पर्छ भन्ने सोच्थें न कि यो अर्कैको काम भनेर सोच्दैनथेँ । यो काम सँगसँगै मैले राम्रो रिजल्ट पाउनुपर्छ भन्ने मेरो मनमा लागि रहन्थ्यो । किनकी काम गर्दा काम मात्र सकाएर हुँदैन, काम गरेपछि कस्तो रिजल्ट आयो भनेर हेर्नुपर्छ ।

त्यसैले मैले कामगर्दा सधैं म आफ्नो कामको मूल्यांकन गर्थें । मैले जहिले पनि म आफ्नो कामको लेखा जोखा हेर्थें । कति काम सिकें, कति काम गरें र मैले साहुलाई कतिखुशी राखें सँगसँगै ग्राहकलाई कतिखुशी राखें र यसबाट मलाई कति सन्तुष्टि भयोत्यो पनि हेर्थें ।कहिले पनि यो काम अर्काको हो, अरुको लागि गर्दैछु भनेर मनमा आएन । सधैं यो मेरो हो, मलाई यो जिम्मा दिएको छ मैले यो गर्नुपर्छ भन्ने मनमा राख्थें ।होटल लाइनमा लागे पछि यसको क्याटगोरी छ त यो सबैलाई समेट्नु पर्छ र म एउटा कुक भएर होटलमा गइसके पछि कुक मात्र होइन कि सबै कुराको ज्ञान हुनुपर्छ । कुक भएर खाना मात्रै पकाउनु पर्छ भन्ने सोच रहेन, होटल क्षेत्रमा गइसके पछि म्यानेजर, अकाउण्ट, वेटर, कुक, हेल्पर, क्लिनर लगायत सबै कुरामा म नियाल्ने गर्थें । म पहिलादेखि नै धेरै यो पेशालाई चासो दिन्थें ।

० आफ्नो पेशाप्रति सन्तुष्ट हुनुहुन्छ ?
आजको दिनसम्म सन्तुष्ट नै छु । म आफु लगायत मेरो परिवार धान्न सकिएको छ र धेरैलाई रोजगारी दिन पाएकोमा खुसी लाग्छ जसले गर्दा धेरै परिवारको चुलो बल्न सहयोग मिलेको छ । र बनेपामा आएका जति पनि ग्राहकहरूलाई एउटै छाना मुनी विभिन्न परिकारहरूको स्वाददिन सकेको छु । त्यही कारण म यो पेशा प्रति सन्तुष्टि छु ।

० कामदार र साहुमा सजिलो कुन छ ?
दुवै उस्तै हो । यदि कामदारले पनि यो काम मेरै हो भनेर गर्ने हो भने साहुलाई जतिकै गाह्रो छ ।होइन, यो मेरो ड्युटी हो, यति सकेपछि मेरो काम सक्यो भन्नुहुन्छ भने काम सजिलो छ, व्यवसाय गाह्रो छ । मैले यो यो काम गर्नु पर्छ, सिक्नु पर्छ भनेर चिन्तन ग¥यो भने माथिल्लो लेभल सम्म कसरी पुग्छ भन्ने कुराको पनि चिन्तन गर्नु पर्छ ।

अहिले विभिन्न नयाँ नयाँ फुडहरु आएको छ, आधुनिक युग सँगै खानाको पनि नयाँ नयाँ परिकारहरू आईरहेका छन् । साधारण खाना पकाउन मात्र जानेर दक्ष कुक भइँदैन । जति नयाँ खाने कुरा बनाउन सक्यो त्यति नै तलब बढ्ने र मान सम्मान मिल्छ । व्यवसायी तर्फ पनिनिकै चुनौतीहरु छ । कामदारहरुलाई कसरी सन्तुष्ट बनाउने, घर भाडामा लिएका हुन्छौं त्यो कुरालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ र संघ संस्थाहरु सँग रहेर काम गर्नुपर्ने हुन्छ ।

० होटल व्यवसायमा के कस्ता समस्या छन् ?
अहिले सरकारको नीति हेर्दा समस्या मात्रै छ जस्तो देखिन्छ ।त्यो बाहेक अरु पनि धेरै समस्याहरु छन् र कामहरु आफूले सही ढंगले गर्न सकियो भने अवश्य सफल भइन्छ नै । भनेको जस्तो स्टाफ नपाइने, अलि अनुभवी, दक्ष कामदारहरु विदेश पलायन भई दिने, यस क्षेत्रको मुख्य समस्या रहेको छ । सरकारको अहिले नीति बुझि रहँदा व्यवसायमा केही असर परेको हो कि भन्ने लागिरहेको छ ।

० यस सम्बन्धी संघ संगठनले सम्बोधन गरेको छ ?
सम्बोधन गरिरहनु भएको छ । हामी पनि एउटा व्यवसायी मान्छे, हामी आफैं पनि व्यस्त हुन्छौं । हामीले मुखले भन्दा बढी हातले काम गर्नु पर्ने हुन्छ ।उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसाय संघले पनि सोचिरहनु भएको छ र तालिमहरु पनि दिइरहनु भएको छ । मार्केटले के मागिरहेको छ त्यो हामीले पनि खोजी गर्नु पर्ने हुन्छ । मार्केटको मागलाई खोजीगर्ने कि, मार्केटलाई सेवा सुविधादिने कि, सरकारले ल्याएको नीतिलाई पछ्याउने ? यसमा हामी व्यवसायीहरु अन्यौलमा छौं । हामीसँग सम्बन्धित संस्थाहरुले हामीलाई चासो दिइरहनु भएको छ । सरकारले पहिले नै सूचना दिएर नीति बनाएको भए हामीलाई सजिलो हुन्थ्यो ।

० अन्त्यमा केही ?
सम्पूर्ण ग्राहकहरुले मन पराइ दिनु भएको छ । एउटा नेवारी खाजा घरबाट सुरुवात गरे आज यो ठाउँमा पुगेको छु ।ग्राहकहरुको मन जित्न सफल भएको छु । ५० जना भन्दा माथि कामदारहरुलाई रोजगार दिन सकेका छौं । यहाँ सम्म पुग्नु, यति उपलब्धी पाउनु भनेको ग्राहकहरुबाट नै हो ।ग्राहकहरुले विश्वास गर्नु नै मेरो उपलब्धीहो ।बनेपामा आइसके पछि कहाँगएर बस्ने भन्दा बनेपामै बस्ने सुविधा पायो । जुन खालको एउटा पाहुना घर सञ्चालन गरेको छुयसमा सानोतिनो मिटिङ हल, प्रोग्राम गर्न मिल्ने गरी बनाइएको छ । यहाँहरुलाई यहाँ स्वागत छ, हिजो जसरी माया गर्नु भएको छ, भोलि पनि त्यसरी नै माया गरि दिनुहोला भन्न चाहन्छु

प्रतिक्रिया