सजिलो छैन, कस्मिर-कलहको हल

सन् १९८४ मा एचभी शेषाद्रीको एउटा पुस्तक प्रकाशित भएको थियो, जो साह्रै चर्चित र बिवादित समेत रहृयो । पुस्तकको नाम थियो- विभाजनको कारूणिक कथा । अंग्रेजी भाषामा ‘द ट्राजिक स्टोरी अफ पार्टिसन’ नामबाट प्रकाशित सो पुस्तकले ‘अखण्ड भारत’ को पुरातन विचारलाई जवरजस्त ढंगले सतहमा ल्याइदिएको थियो ।

शेषाद्री पुरातन ‘राष्ट्रिय स्वयंसेवक संघ’ अर्थात आरएसएसका एक अत्यन्तै प्रभावशाली नेता थिए । अहिलेको सत्तारूढ भारतीय जनता पार्टीको मातृ संगठनका रूपमा रहेको आरएसएसलाई अखण्ड भारतको पक्षधर शक्तिका रूपमा बुझ्ने गरिन्छ अनि आरएसएसले बोक्ने गरेको अखण्ड भारतको भाष्य उनै शेषाद्रीले व्याख्या गरे अनुसारकै छ भन्ने गरिन्छ ।

हिन्दु अतिवादी संगठन आरएसएसको बुझाइमा, उत्तरमा हिमालयदेखि दक्षिणमा लंकासम्म अनि पूर्वमा इन्डोनेसियादेखि पश्चिममा पाकिस्तान, अफगानिस्तान र इरानसम्मको बृहद भूखण्ड नै अखण्ड भारत हो । आरएसएसले यही कुरा आफ्ना तमाम क्याडर्स र कार्यकर्तालाई दशकौंदेखि पढाउँदै र घोकाउँदै आएकोमा, वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी समेत त्यही ‘स्कूलिङ्ग’ का एक उम्दा विद्यार्थी रहेको सत्य र तथ्य बुझेपछि मात्र अहिलेको कश्मीर प्रकरण बुझ्न अलि सहज हुन्छ भन्ने मैले ठानेको छु ।

भारतीय संविधानले जम्मु-कश्मीरलाई विशेषाधिकारसहित विशेष राज्यको दर्जा दिँदै आएको भारतीय संविधानको अनुच्छेद ३७० को खारेजीसँगै भारतमा सत्तारुढ दल, अखण्ड भारत पक्षधरहरू एवं आम जनताको ठूलो हिस्सा यसलाई ऐतिहासिक कदम भन्दै हषिर्त तथा उत्साहित देखिन्छ भने बौद्धिक जगतमा त्यति साह्रो उत्साह देखिन्न । सैन्यबलले समाधान दिनुको साटो परिस्थिति थप भयावह हुने बुद्धिजीवीहरूको बुझाइ रहेको छ । प्रतिपक्षी कांग्रेसले सरकारको यो कदमको कडा बिरोध गरेको छ ।

कश्मीर प्रकरणलाई भारतीय संस्थापनले अहिले जति सामान्य र शान्तिपूर्ण विषय हो भने जस्तोगरी प्रचार गर्न खोजिरहेको छ । तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले कश्मीर मामिलालाई धेरै नजिकबाट नियालिरहेको बताएका छन् । परम्परादेखी नै कश्मीर मामिलालाई भारत-पाकिस्तानको आपसी मामिला भन्दै बसेको छिमेकी चीनले लद्दाखको विषयलाई लिएर चिन्ता जाहेर गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिश कुमारले जम्मु-कश्मीर तथा लद्दाखलाई अलग-अलग केन्द्र शासित राज्य बनाउने सरकारको निर्णय, भारत सरकारको आन्तरिक मामिला भएको बताएका छन् ।

चीनले खास चासो जाहेर गरेको लद्दाख क्षेत्र जम्मु-कश्मीरसँगै सिमाना जोडिएको क्षेत्र हो । काराकोरम तथा हिमालय पर्वत श्रृंखलाको मध्यमा अवस्थित करिब ९८ हजार बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लद्दाखको पूर्वतर्फ तिब्बत तथा उत्तरमा चीनको मुख्यभूमिसँग सीमाना जोडिएको छ ।

यहाँका बहुसंख्यक जनता तिब्बती वा नेपालको हिमाली क्षेत्रका जनताको जस्तै धर्म-संस्कृतिका अनुयायी भएकोले पनि भारतीय मनोविज्ञानले यिनलाई जोडिराख्न चुनौतीपूर्ण देखिन्छ । मूलतः लद्दाखको पूर्वी क्षेत्रमा बुद्धमार्गीहरू तथा पश्चिमी क्षेत्रमा मुसलमानहरूको बाहुल्य छ ।

लद्दाखको बिषयलाई लिएर विगतमा समेत भारत र चीनबीच आमने-सामनेको स्थिति बनिसकेकै हो । विगतमा चिनियाँ सेना पटक-पटक लद्दाख क्षेत्रमा प्रवेश गरेको कुरा त स्वयं भारतीय विदेश मन्त्रालयले समेत स्वीकार गरेकै विषय हो ।

सन् २०१८ मा मात्रै चिनियाँ सेना नियन्त्रण रेखा भन्दा ६ किलोमिटरभित्र छिरेर चीनको झण्डा फहराउनुका साथै अनेकौं टेण्टहरू ठड्याएकोमा अझै पनि लद्दाखमा चिनियाँ सेनाले उभ्याएको दुईवटा टेन्ट यथावत नै रहेको भारतीय पक्षको दाबी रहँदै आएको छ ।

यसरी लामो समयदेखि आलो घाउको रूपमा चहर्‍याइरहेको कश्मीरमा भारतीय संस्थापनले सोचेजस्तै शान्ति कायम हुन सकेमा यो उसका लागि एउटा ठूलो उपलब्धी नै हुनेछ । त्यसो भयो भने यस क्षेत्रकै लागि समेत सन्तोषको विषय हुनेछ ।

तर, भारतीय संस्थापनले जसरी कश्मीरलाई एक भूगोल मात्र ठानेको देखिन्छ, कश्मीर केवल भूगोल मात्र हैन । यो एक मनोभाव, मनोदशा र मनोविज्ञान पनि हो । मूलरूपमा यही भावनाले अबको कश्मीर निर्देशित हुने सम्भावना देखिन्छ ।

प्रतिक्रिया