‘म कवि होईन’

उहाँले मलाई
हजुर कवि हो ? भनेर सोध्नुभो
मैले भनें भला म कवि ?
कसरी हुन सक्छु म कवि ?

म त कलिलो केटाकेटी जस्तो
अक्षरलाई अंकमाल गर्दै रमाउने
शब्द संग सिँगौरी खेल्दै चिढ्याउने
अनि
वाक्य संग वाक्क भएर
वात्त परेर बस्ने एक सानो बालक ।

हैन,म कवि त हुँदै हैन
हजुरको प्रश्न म मान्ने छैन
म अक्षरको अंगालोमा
मस्त निदाउँछु जसरी
चल्ला पोथीको काखमा निर्भय निदाउँछन

म शब्दको शोकमा त्यसैगरी रून्छु जसरी
प्यासी चाँदनी
हिउँदको जाडो रातमा
शीत-आँसु रूने गर्दछे।

म वाक्यको अर्तनादमा
त्यसैगरी द्रवीत हुन्छु जसरी
देवकोटा भिखारी देख्दा द्रवीत हुन्छन् ।

म अक्षर ,शब्द,वाक्य संग वाक्क दिक्क भएर
कहिलेकाही नबोली बस्छु
बोल्न प्रतिवन्ध लगाईएका बहुसंख्यक
गरिब,दलीत,महिला,किसान र श्रमिक जस्तै

अनि फेरि,
नबोल् नबोल् भन्दा पनि
हज्जार फन्दा झेल्दै
क्रान्ति चिच्याउँछु
कृष्णसेन ईच्छुक जस्तै
तर माफ गर्नुस
म कवि सवि हैन।

म कुनै कवि हैन कविता लेख्ने
म कुनै सर्जक हैन सुन्दरता देख्ने
म त त्यो लेख्छु
जो बहिष्करणमा परेका छन्
र अलेख्य छन् ।

म त त्यो देख्छु
जो बाह्य आँखाले देखिंदैन
मनको आँखाले मात्र देखिन्छ:
गरिबको भोक
दलितको अपमान
महिलाको दलन र शोषण
किसानको मेटाईएको सान
मजदूरको अपहरित मान
अनि
सामन्त धिराजका सैतानी शुत्रहरू

माफ गर्नुस् म कवि हैन
कविता लेख्ने योग्यता म मा छैन
म अक्षरको क्षेप्यास्त्र हान्छु
शब्दको मिसाईल र
वाक्यको युद्ध चलाउँछु
अनि
दलाल,सामन्त,महन्थ,पादरी र मुल्लाहरू
धर्म नाश गर्यो भन्दै
धर्म रक्ष्याको अपील गर्छन
गोहीको आँशुले आँखा टिलपिल पार्छन्

म अक्षरमा अंकुराउँछु
शब्दमा बढ्छु र चढ्छु अनि
वाक्यमा झ्याङ्गिन्छु
लहरा झैं,कोमल हृदयहरूमा
भुईंमान्छेका बस्तीहरूमा
र फुलिदिन्छु
मानवताको
भातृत्वको
विश्वबन्धुत्वको फूल बनेर।

तर मलाई कवि नभनी दिनुहोला
कवि नठानी दिनुहोला
म हरेक मौसम र माटोमा
अंकुराउन सक्ने
एक जब्बर अक्षर हुँ
अराजक अक्षर!

मदनकुमार अधिकारी
धनुषाधाम नगरपालिका -४,सर्सा

प्रतिक्रिया