मलेसिया डायरी : समृद्धिका पानाहरू

नेपाली युवा पुस्ताको श्रम बजारको रूपमा हामीले चिन्ने र बुझ्ने गरेको दक्षिण-पूर्वी एशियाली मुलुक मलेसियाको अध्ययन भ्रमण गर्ने मौका मिल्यो।केही उत्साही युवा उद्यमीहरू सम्मिलित टोलीमा यो पंक्तिकार समेत सम्मिलित थियो। भ्रमणको मुख्य उद्देश्य मलेसियाको आर्थिक-प्राविधिक बिकासका अतिरिक्त नेपाली उत्पादनको बजारीकरण गर्ने सम्भाब्यता र बिधीबारे अनुभव संगाल्नु रहेको थियो।मलेसियाको बारेमा सुन्दै र पढ्दै आएका अनेक तथ्यहरू मनमा संगाल्दै त्यसलाई आफ्नो स्वअनुभवको कसीमा ढालेर मूल्यांकन गर्ने कोशिसका बीच मेरो यो भ्रमण अनुभव एउटा सन्दर्भ श्रोत बन्न सक्ला कि भन्ने बिश्वासका साथ मलेसिया-डायरी लेख्न जाँगर चलाएको हुँ।

गत: अगस्ट ९ तारिखका दिन त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट मलिण्डो एयरमा यात्रा गर्दैगर्दा मेरो मानसपटलमा डा. महाथीर मोहम्मद छाईरहे,जो आधुनिक मलेसियाका पिताका रूपमा श्रद्धापूर्वक सम्मान गरिन्छन् । सन् १९३० को दशकमा ठूलो खाद्यान्न संकट झेलेको तथा सन् ६० को पूर्वार्धको अवधी सम्म पछौटेपनले नराम्ररी गाँजेको यो मुलुकले छोटो अवधीमै हासील गरेको बिकास र समृद्धिको गाथा उदाहरणीय रहेको छ।त्यसैले त बिकासमा मलेसिया-मोडेलको चर्चा समेत हुने गर्दछ।

मलेसिया दक्षिण-पूर्वी एशियामा अवस्थित एक उष्ण कटिबन्धीय देश हो।यो दक्षिण चीन सागरद्वारा दुई भागमा बिभाजित छ।मलय प्रायद्विपमा अवस्थित मुख्य भूमीको पश्चिम तटमा मलक्का जलडमरू तथा यसको पूर्वी तटमा दक्षिण चीन सागर रहेको छ। १३ वटा प्रादेशिक राज्यहरू सम्मिलित मलेशिया एक संघीय अधिराज्य हो। लामो समय बृटिश साम्राज्यको हिस्सा रहेको यो भूमी सन् १९५७ अगस्ट ३१ तारेखका दिन स्वतन्त्र हुँदा फेडेरेसन अफ मलायाको नामबाट उदाएको थियो पछि सन् १९६३मा मलाया,सिंगापुर र बोर्नियो समेत मिलेर मलेसिया बन्न पुग्यो तर दुईबर्ष पनि नपुग्दै केही आन्तरिक मनोमालिन्यका कारण सन् १९६५ मा सिंगापुर मलेसियाबाट अलग हुन पुगेको थियो।सिंगापुरले लि-क्वान-यु को नेतृत्वमा मुहार फेर्यो भने,डा. महाथिर मोहम्मदको नेतृत्वमा मलेशिया एशियाको एक सशक्त आर्थिक इन्जिनको रूपमा उदायो।

आधुनिक मलेशियाको बिकास र समृद्धिको कथा मूलतः डा. महाथिर मोहम्मद संगै जोडिएर आउँछ। १६ जुलाई १९८१ देखि ३१ अक्टोबर २००३ अर्थात २२ बर्षसम्म प्रधानमन्त्रीको रूपमा लगातार सत्ताको बागडोर सम्हालेका महाथिरले मलेसियाको कायापलट गरिदिए। १९८१ मा प्रधानमन्त्री बनेपछी उनले चाल्न खोजेका अनेकौं राष्ट्रपक्षिय कार्यहरूमा अवरोध सृजना हुन थाल्यो,अधिकारको नाममा बिकास र प्रगति ठप्प पार्ने कार्यले महाथिरलाई चिन्तित मात्र बनाएन,चिन्तनशिल समेत बनायो। आफू जति ईमानदार भएपनी यथास्थितिमा देश र जनताको पक्षमा ठोश काम गर्न नसकिने निष्कर्षका साथ, कडा आलोचनाको समेत प्रवाह नगरी महाथिर मोहम्मदले एउटा ठोश कदम चाले,त्यो कदम थियो सन् १९८७ मा जारी गरिएको आन्तरिक सुरक्षा ऐन । “देश बिकासको राष्ट्रिय संकल्पका अघिल्तिर अन्य सबै कुराहरू गौण हुन्” भन्ने भावका साथ यो ऐन ल्याईएको महाथिरले बताएका थिए।

यो ऐन लागू भए पश्चात् प्रोपोगन्डामा संलग्न भनिएका देशका प्रमुख कतिपय पत्रीकाहरू बन्द गराईए। यस क्रममा मलेसियाको चर्चित अंग्रेजी दैनिक “द स्टार” लगायतका अनेकौं पत्रपत्रिकाको प्रकाशन बन्द गराईयो भने बिपक्षी दलका नेताहरू र सरकारका आलोचकहरूलाई गिरफ्तार गरि हिरासतमा राखियो।मानवअधिकार,विधि,पद्धति र लोकतान्त्रिक मान्यताको प्रतिकूल गरेको भन्दै महाथिरको यो कदमको ठूलो आलोचना समेत भएकै हो तर राष्ट्र निर्माणको महान लक्षका अघिल्तिर अन्य सबैकुरा गौण भन्दै महाथिर मोहम्मदले आलोचनालाई कहिल्यै कुनै भाउ नै दिएनन् ।

मलेशियाको प्रमुख पर्यटकिय गन्तव्य तथा योजनाबद्ध रूपमा बिकाश गरिएको शहर पुत्रजयामा घुम्दैगर्दा मैले मित्र प्रणय श्रेष्ठलाई भनें ” हेर्नुस् त प्रणय सर,आज चार दिन भैसक्यो,जुत्ता त जस्ताको तस्तै पो छ त। धुलो मैलो केही कतै छैन। रसीक स्वभावका प्रणयजीले भन्नुभयो -“सर ! जुत्ता पालिस किन्न नजानुहोला,यहाँ जुत्ता पालिस नै किन्न पाईन्न”। यो एउटा बिम्ब थियो, तर हामीले हाम्रो हाँसो रोक्न सकेनौं।समृद्ध सडक संजाल,वातावरणिय स्वच्छता एवं वैभवशाली अग्ला-अग्ला अट्टालिका भवनहरूलाई साक्षी राखेर मलेसियाले आफ्नो समृद्धिको जीवन्त कथा भन्दो रहेछ। “आखिर जहाँ गएपनी काम त गर्नैपर्छ,आरामले काम गरेर आनन्दको जीवन जिउन सकिने हुनाले नै धेरै नेपालीहरू मलेसिया आएपछी यतै भुलिन्छन् ” लामो समयदेखी मलेसिया रहनुभएका तथा मलेसिया बुझ्नुभएका मित्र हेमराज सापकोटाले अनुभव सुनाउनु भयो।

शुरूमा यहाँ आउने नेपालीलाई मलेशिया अलि महङ्गो लाग्ने गरेको भएपनी,यतै आय-आर्जन गरेर बसेपछी र बजार बुझ्दै गएपछी चाहिँ काठमाडौको बसाई भन्दा क्वालालम्पुरको बसाई नै सस्तो पर्न आउने हिसाब समेत मित्रले जोडेर देखाउनु भयो। नेपाल सरकारले मलेशियाको श्रम बजारमा नेपाली कामदार पठाउन रोक लगाएको बिषयलाई प्रत्युत्पादक निर्णय भन्दै कि त सबैलाई स्वदेशमै रोजगारी ग्यारेन्टी गर्नुपर्छ,हैनभने यस्तो हल्काफुल्का निर्णय गरेर सरकारले राम्रो नगरेको यहाँ बस्ने अधिकांश नेपालीहरूको आम धारणा रहेको पाईयो।मलेशिया जाने कामदारहरूबाट अनधिकृत रूपमा रकम असुल्ने गरिएको भन्दै श्रम मन्त्रालयले नेपाली कामदारहरूलाई श्रम स्वीकृति दिन रोक्का गरेको हो तर आलोचकहरू यसका पछाडी मोटो कमिसनको खेल भएको बताउँछन्।

करिब ३ लाख ३० हजार बर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको मलेशियाले बिगत तीन दशक यता कहिल्यै पछाडी फर्केर हेर्नु परेको छैन। महाथिर मोहम्मदले सत्ता सम्हाले पश्चात् खासगरी सन् १९८८ देखि १९९६ को अवधिलाई मलेशियाको आर्थिक क्रान्तिको अवधी र स्वर्णकाल नै मानिंदो रहेछ।यस अवधिमा मलेसियाले निरन्तर ८ प्रतिशत भन्दा माथीको आर्थिक बृद्धिदर हासिल गर्न सफल रह्यो भने स्वप्नद्रष्टा महाथिरले २५ बर्षे गुरूयोजना सार्वजनिक गर्दै सन् २०२० सम्ममा मलेसियालाई विश्वकै बिकसित राष्ट्रहरूको सूचीमा सुचिकृत गराउने संकल्प लिएका थिए,नियतिको खेल नै भन्नुपर्छ,फेरि उस्तै युवा उत्साहका साथ आफूले निर्धारण गरेको लक्ष भेट्टाएरै छोड्न ९३ बर्षको बयोबृद्ध उमेरमा समेत उनै महाथिर मोहम्मद यतिबेला देशको प्रधानमन्त्रीको रूपमा नेतृत्व प्रदान गरिरहेका छन्।राजनीतिबाट अवकास लिएर बसेका भएपनी देशमा बढ्दो भ्रस्टाचारबाट असन्तुष्ट जनताको मनोभाव बुझेका महाथिरले ‘म अझै जिवितै छु’ भन्दै १५ बर्ष पश्चात् गत: बर्ष मात्र ९२ बर्षको उमेरमा मुलुकको प्रधानमन्त्रीत्व सम्हालेका हुन् ।

डा. महाथिर मोहम्मद पेशागत हिसाबले एक चिकित्सक हुन् । एक सफल चिकित्सकको रूपमा उनले नाम र दाम प्रसस्तै कमाए तर चिकित्सा पेशामै टिकिरहन सकेनन् ।चिकित्सा पेशासंगै उनी राजनीतिमा संलग्न भए र अन्ततोगत्वा राष्ट्रकै नायक बने।संयुक्त मलाय राष्ट्रिय संगठनबाट राजनैतिक आबद्धता जनाएका महाथिर आफ्नो साह्रै जमेको चिकित्सा पेशा परित्याग गरि सन् १९५७ देखि पूर्णकालीन राजनीतिमा होम्मिए। मलेसियामा जापानी अधिग्रहण समाप्त भए संगै,त्यहाँ गैह्र मलेसियनलाई नागरिकता दिने कार्य तिब्र भयो। महाथिरले सो को बिरोधमा आफूलाई प्रस्तुत गरेर राष्ट्रिय पहिचान बनाए ।

उनको नेतृत्वमा मलेसियाले नयाँ जीवन नै प्राप्त गर्यो।१२ अर्वको राष्ट्रिय अर्थतन्त्रलाई २ खर्व २५ डलरमा पुर्याए। मुलुकको भौतिक पूर्वाधारलाई एशियामै उत्कृष्ट पूर्वाधारको रूपमा बिकास गरे।क्षेत्रफलको हिसाबले मलेसिया ठूलो मुलुक होईन,सानै मुलुक हो। ३ लाख ३० हजार क्षेत्रफल भएको मुलुकमा ७ वटा बन्दरगाह,२०० भन्दा बढी औद्योगिक पार्क तथा १ लाख ४४ हजार किलोमिटर सडक सन्जालका अतिरिक्त १८३३ किलोमीटर रेलवे ट्र्याकको बिकास र बिस्तार गरे। बहु-राष्ट्रियताले युक्त मलेशियामा जातिय सद्भावको महत्त्व राम्रैसंग बुझेका महाथिरले मलय,चिनियाँ तथा भारतिय मूलका नागरिकहरूबीच जातिय एकता र सामुदायिक सद्भाव अभिबृद्धीका लागि असाध्यै धेरै काम गरे फलस्वरूप फरक-फरक जातीय समूह र समुदायको बीचमा रहेको आपसी तिक्तता, अविश्वाश र घृणाको मात्रा निरन्तर कम हुँदै गयो भने सद्भाव-सहिष्णुताको बिकास हुँदै गयो।यो साह्रै नै महत्वपूर्ण बिषय हो।

मलेसियामा ब्यवस्थापन गरिएका यी बिषयहरूको चर्चा गर्दैगर्दा,हाम्रो नेपालमा भने सडक बिस्तार गर्न खोज्दा सडकमै सुत्न जाने,मुद्दा हालेर प्रकृया लम्ब्याईदिने अनि यो सरकार र सिस्टम त केहिपनी हैन भन्दै भ्रम पस्कने वा अनावश्यक गुलामी गर्ने प्रवृत्ती हावी देखिन्छ। राष्ट्रिय टेलिभिजनमा आक्रोशित मुद्रामा चिच्याएर राज्यको अस्तित्वलाई नै चुनौती दिने प्रकारको बिकृत पत्रकारिता बिकास भएको देखिन्छ। पत्रकारिता ब्यक्ती र समाज अनि नागरिक र सरकार बीचको पुल बन्नुपर्ने हुन्छ। राज्यलाई नै असफल र अकर्मणय भएको देखाएर राज्यमा अस्थिरता उत्पन्न गराउन उद्यत पत्रकारिता अन्ततोगत्वा प्रत्युत्पादक ठहर्छ भन्नेकुरा हामीले पनि आत्मसात गर्नु आवश्यक देखिन्छ। गैरसरकारी संगठनहरूको मनोमानी,समाजसेवाको नाममा चन्दा उठाउने धन्दा र पत्रकारिताको नाममा राज्यसत्ताकै बिरूद्ध प्रहार गर्ने प्रवृत्ती उपर राज्यले कठोर निगरानी राख्नुपर्ने अनुभव यो भ्रमणबाट प्राप्त भएको छ । अर्कोतर्फ राज्य संचालक अगुवा नेताहरूमा स्वच्छता,सादगी रआदर्श चरित्र बिकास भएको कुरा आम जनताले अनुभुत गर्न सक्ने तथा प्रशासन संयन्त्रमा लोकतान्त्रीकरण र जनमुखिकरण गर्दै जनबिश्वाश आर्जन गर्नुको अतिरिक्त अन्य कुनै बिकल्प देखिन्न। मुलुकमा दुईतिहाईको सरकार बनेर राजनैतिक स्थिरता प्राप्त भएको यो घडिमा समेत ठोश ढंगले काम नगरी समय गुजार्दै जाने हो भने समय-सुनामीले कसैलाई नछोड्ने बुझ्न सकिन्छ।

नेपालमा हालैका दिनहरूमा ‘उदार तानाशाह’को चर्चा समेत चल्ने गरेको छ। अधिकारको नाममा बढ्दो स्वच्छ्न्दता र अराजकता मुलुकको शान्ति र समृद्धिको बाधक बन्न हुँदैन भने, राज्यले पनि नियमन गर्ने नाममा वैयक्तिक स्वतन्त्रता हरण गर्ने कुरा सैह्य हुन सक्दैन । बीचको एउटा बाटो निकालेर शान्ती,बिकास र समृद्धिको निम्ति एउटा राष्ट्रिय संकल्पको खाँचो देखिन्छ।

नेपाल सरकार तथा उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनमा २०७० को चैत्र महिनामा काठमाडौमा आयोजित व्यापार सम्मेलनको मुख्य बक्ता बनेर आएका महाथिर मोहम्मदले नेपालले ब्यवस्थापकिय क्षमता बढाउन सके बिकासमा नेपाल-मोडेल शुरू हुन बेर नलाग्ने बताईरहँदा यो पंतिकार उनै महाथिर द्वारा लिखित The Malay Dilemma (मले द्विबिधा) नामक चर्चित पुस्तक पढ्न मस्त थियो भने मलेसिया समृद्धिको एउटा आलेख लेख्नै पर्नेभो भन्ने कल्पनामा कावा खाँदाखाँदै क्वालालम्पुरबाट उडेको बोईङ्गले त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलको धावनमार्ग टेकिसकेको थियो।

प्रतिक्रिया