देशव्यापी अभियान सञ्चालन गर्ने नेकपाको तयारी, पार्टी नीति र नेतृत्वविरुद्ध नबोल्न निर्देशन

काठमाडौं । सत्तारुढ दले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्धारा सञ्चालित विकास, सम्बृद्धि र सामाजिक न्याय सहितको महाअभियानसँग जोड्ने गरि विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’

त्यति मात्रै होइन, निर्देशनमा अब चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरेर कार्यक्रम तय गर्ने समेत उल्लेख छ । यो बैठकबाट पार्टीलाई तल्लो तहका जनतासम्म जोड्न अझ मद्दत गर्ने निर्देशनमा औल्याएको छ ।

यसैबीच नेकपाले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशन दिएको छ ।

तर सार्वजनिक रुपमा नेतृत्व र नीतिको बिरोध गर्न बन्देज लगाएको छ । आन्तरिक सर्कुलरमा भनिएको छ–पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरुप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारवाहीको प्रक्रिया अघि बढाइने छ ।’

प्रतिक्रिया