किसान आवास परियोजना कार्यक्रम सुरु गर्ने कृषि तथा पशुपंक्षी विकासमन्त्री खनालको घोषणा

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानको पक्षमा कृषि अनुसन्धान परिषदले कामै नगरेपछि त्यसको विकल्पमा आफूले किसान आवास परियोजना कार्यक्रम सुरु गर्न लागिएको घोषणा गरेका छन ।

सो परियोजनाले किसानका लागि आवश्यक आवाससहित प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने उनको भनाई छ ।मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको पाइएको उल्लेख गर्दै चर्को असन्तुष्टि व्यक्त गरे ।

सोमबारबाट काठमाडौंमा सुरु भएको ‘एसियन कृषि सम्मेलन तथा प्रर्दशनी–२०१९’ को उद्घाटन गर्दै मन्त्री खनालले ६६ प्रतिशत कृषकहरु रहेको मुलुकमा उनीहरुको आवश्यक्तालाई सम्बोधन हुने गरी अध्ययन र अनुसन्धानको कामलाई कृषि अनुसन्धान परिषदले अघि नबढाएपछि सरकारले सो परियोजनामार्फत् किसानहरुलाई आवश्यक प्रशिक्षण समेत दिने व्यवस्था गर्नु परेको स्पष्ट पारे ।

प्रतिक्रिया