कश्मीरको दमन र कन्नन गोपिनाथन

कश्मीर प्राकृतिक रूपमा अत्यन्तै सुन्दर उपत्यका हो, तर राजनीतिक कारणले गर्दा कश्मीर भन्नासाथ हामी दमन,उत्पिडन,हत्या-हिंसा र सबैभन्दाबढी त्यहाँ जारी श्वेत-आतंक सम्झन पुग्छौं। कश्मीरको अवस्थिती र सुन्दरता नै कश्मीरको निम्ति काल बनेर खडा भएको बुझ्न सकिन्छ।

नागरिकहरूको मानवअधिकार असाध्यै कुण्ठित भएका संसारका ठाउँ र क्षेत्रहरू खोज्दै जाने हो भने कश्मीर नै अग्र स्थानमा देखिने छ भनियो भने सायद त्यो गलत हुन्न। नयाँ दिल्लीले लालकिलाबाट हरेक बर्ष आफू दुनियाँको सबैभन्दा ठूलो लोकतन्त्र हुँ भनेर घोषणा गर्दै गर्दा श्रीनगरकी हसीना बानुको हिजाबले ढाकिएको चन्द्रमुहार दावानल झैं हुर्हुर दन्कन थाल्छ आक्रोशमा। यहाँ हसीना बानु त एक प्रतिनिधि पात्र मात्र हुन् ,जसका श्रीमान र छोरालाई भारतिय सुरक्षाकर्मीले झ्याल खोलेर बाहिर हेरेकै अभियोगमा सिध्याई दिएका थिए।कश्मीरमा मान्छे कसरी-कसरी मारिन्छन् भन्ने कुरालाई चर्चाको बिषय बनाउनु नै उचित नहोला बरू कसरी कसरी बाँचिरहेका छन् त्यो चहिं अध्ययन-मननको बिषय हो।

केही समय अघि मोदी शासित भारतिय सत्ताले भारतिय संबिधानको बिशेष ब्यवस्थाको रूपमा रहेको धारा ३७० खारेजी गर्दै भारत एक भएको घोषणा गरेको यतिदिन बितिसक्दा समेत कश्मीर होसमा आउन सकेको छैन। हरेक घर बन्दिगृह,हरेक बिद्यालय क्यान्टोनमेन्ट तथा हरेक सडक परेड-पेटीमा रूपान्तरीत भएका छन् । कश्मीरको हावामा स्याउको फूलको सुगन्ध हैन बारूदको दुर्गन्ध मात्र डुल्छ,आतंक बोकेर।

अगष्ट- २०१८,अर्थात ठिक एक बर्ष अघि। दक्षिणी भारतिय राज्य केरल भयंकर बाढीको चपेटामा परेको थियो। बाढीको कहर थामिनु पूर्व नै सारा केरलमा एउटा तस्वीर निकै भाईरल हुन पुग्यो। एकजना सामान्य झैं देखिने युवा उद्धार र राहत कार्यमा ज्यान फालेर भिडेको त्यो तस्वीर हजारौं लाखौंले सामाजिक सन्जालमा शेयर गर्दैगर्दा मिस्टर कन्नन गोपिनाथन एक सेलिब्रेटीको रूपमा उदाई सकेका थिए।

कन्नन गोपिनाथन

कन्नन गोपिनाथनको राहत उद्धार कार्यलाई आम मानिसहरूले सह्राना गर्नुपर्ने कारण मूलतःउनको उच्चकोटीको सेवा समर्पण भाव नै थियो।साथै यसभन्दा पनि अरू केही कारण पनि थियो। त्यो के थियो भने,गोपिनाथन एक आई. ए. एस. अधिकारी समेत रहेका थिए। आई.ए.एस. अफिसर अर्थात ईन्डियन एडमिनिस्ट्रेटिभ सर्भिस अफिसर।भारतमा भारतिय निजामती सेवाका अफिसर भनेपछी निकै नै क्रेज भएको पदीय दायित्वधारी ब्याक्तित्वको रूपमा लिने गरिन्छ। सन् २०१२ ब्याचका उत्पादन गोपिनाथन, दिल्लिको दादरा-नगर हवेली क्षेत्रमा डिस्ट्रीक कलेक्टरको पदमा कार्यरत थिए। गोपिनाथनले केरल आपदामा सशरिर उपस्थित भएर उद्धारकार्य मात्रै गरेनन् अपितु आफ्नो पदिय हैसियत अनुसार आपदा पिडितको निम्ति सरकारी खजानाबाट रू. पाँचकरोड रकम निकासा गर्न लगाएर पिडितहरूलाई आर्थिक टेवा समेत दिएका थिए। यहि कारण थियो,केरली जनताले गोपिनाथनलाई शीर आँखामा बसाए।

केरल आपदाको एकबर्ष नबित्दै,भारतिय संस्थापनले जम्मु-कश्मीरमा एक्सन लिंदै धारा ३७० निलम्बन गरेसंगै भारतिय जनमत समेत यसलाई हेर्ने र बुझ्ने सवालमा स्वाभाविक रूपमा बिभाजित हुन पुगेको छ। आम जनसाधारणले सरकारको यो कदमको प्रशंसा गरेपनी प्राज्ञिक तथा बौद्धिक तहमा ठूलो तरङ्ग पैदा हुनपुगेको छ।सरकारको कश्मीर कदम जे भएपनी त्यो एउटा कुरो हो तर सिंगो कश्मीरमा अहिले कश्मिरी जनता उपर जे-जे भैरहेको छ, त्यसप्रती आँखा चिम्लन सकिँदैन भन्दै गोपिनाथनले कश्मीरमा जनताको मानवअधिकार उल्लंघनको घटनाले आफू असाध्यै मर्माहत भएको भन्दै ट्विट गरे। उनले भने “कश्मीरमा सरकारले लिएको एक्सन ठिक वा गलत भन्ने बिवाद हुन सक्ला त्यसमा म जान चाहन्न तर,यस बिषयमा कश्मिरी जनताले बोल्न पाउनुपर्ने र आफ्नो अभिमत जाहेर गर्न पाउनुपर्ने नैसर्गिक अधिकार कुण्ठित गर्न पाईंदैन। तर दुर्भाग्यको कुरो के छ भने,संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भनेर नाक घोक्र्याउने भारतिय सरकार कश्मिरी जनतालाई बोल्नबाट समेत रोकिरहेको छ।

कश्मिरी जनताको मुखमा जाबी र हातखुट्टामा नेल लगाएको भन्दै आई.ए.एस. अधिकारी गोपिनाथनले,यस्तो अवस्थामा आफू सरकारी अधिकृत भएर रमाउन नसक्ने ब्यहोराको राजिनामापत्र गत: अगष्ट २१ तारिखको दिन भारतिय गृह मन्त्रालयमा थमाएपछी स्वाभाविक रूपमा भारतिय संस्थापन अताल्लिन पुगेको थियो। त्यसो त कश्मीरमा सरकारी दमनको बिषयमा गम्भीर असहमति प्रकट गर्दै,धारा ३७० निस्तेज गर्नुपूर्व नै जनवरी २०१९ मा यु.पी.एस.सी. अधिकारी फैसल शाहले समेत राजिनामा दिएका थिए। यु.पी.एस.सी. अर्थात युनियन पब्लिक सर्भिस कमिसनका अधिकारी फैसल शाह,जम्मु-कश्मीर निवासी र साथै मुस्लिम समेत भएकोले त्यो प्रकरणको त्यतिधेरै चर्चा भएको थिएन तथापि फैसल शाह २०१० ब्याचका टपर भएको हिसाबले कश्मिरी जनताले त्यसको खुलेर प्रशंसा गरेका थिए। गोपिनाथनको सवालमा भने,न ऊनी कश्मिरी न मुसलमान नै भएकोले यो प्रकरण भारतिय संस्थापनको निम्ति थप टाउको दुखाईको बिषय बन्न पुगेको हो।

त्यसो त गृहमन्त्रालयले राजिनामा स्वीकृत नभएसम्म काममा जानु भन्ने ब्यहोराको नोटिस गोपिनाथनलाई पठाई सकेको छ तर गोपिनाथन आफ्नो अडानबाट एक इन्च पनि डगमगाएका छैनन् । उनले सिधा भाषामा भने “मैले राजिनामा किन दिएँ भन्ने कुनै प्रश्न नै होईन,अहम् प्रश्न त यो हो कि,म यस्तो हालतमा राजिनामा नदिई कसरी बसिरहन सक्थें?”। गोपिनाथनको यो जवाफले पनि मौजुदा कश्मीरमा कुन तहको राज्यआतंक कायम छ भनेर बुझ्न सघाउँछ। “सरकारी उच्च प्रशासनिक सेवामा बसेर सरकारकै कदमको आलोचना गर्नु अस्वाभाविक हुने भएकोले आफूले राजिनामा दिनु नै उचित ठानेको तर धेरैले अनुमान गरेजस्तो आफू सस्तो प्रचारबाजी कमाएर राजनीतिमा भने छिर्न खोजेको हुँदै होईन” गोपिनाथनले आफ्नो स्टाण्ड प्रष्ट पार्दै पत्रकारलाई जवाफ दिएका थिए।

आफ्नो यो कदमले प्रसस्त चर्चा बटुलेका भारतिय प्रशासक गोपिनाथन, कश्मीर राज्यआतंकले आफू द्रवीत भएकाले आगामी आफ्नो आजिविका वा ब्यवशाय के गर्ने भन्नेबारे धेरै सोच्न सम्म नभ्याएको बताउँछन् । तर जे भएपनी सार्वजनिक सेवासंग प्रत्यक्ष जोडिएको कुनै निजी कम्पनीमा आफूले काम खोज्ने उनको बिचार छ। उनी सगर्व भन्छन् “सरकारले कश्मिरी नागरिकहरूको बोल्ने हक जो हरण गरेको छ,म तिनको आवाज बन्न सकुँ, यत्तिमात्र मेरो चाहना हो”। भारतिय संस्थापनले कश्मीर खुशी र शान्त छ भन्ने देखाउन जो प्रचारबाजी गरिरहेको छ,त्यसमा भारतिय युवा प्रशासकले दह्रो झापड हान्दै यो सर्वथा दुष्प्रचार मात्र भएको प्रमाणित गरिदिएका छन् । अनि उनले भारतिय सत्तालाई हानेको यो झापडको आवाज धेरै पर पर सम्म सुनिनेगरी गुञ्जायमान भैरहेको छ।

प्रतिक्रिया